२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

भारतले खोल्यो मानसरोवर यात्रा गर्न आवेदन, नेपाल बेखबर

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ वैशाख १८ गते शुक्रबार

भारतले नेपालको भूमि लिपुलेक भञ्ज्याङ हुँदै गरिने पवित्र कैलाश मानसरोवर यात्रा यस वर्षको जुन महिनादेखि सुरु हुने जनाएको छ । कोभिड–१९ महामारी र भारत–चीन सीमा तनावका कारण लामो समय रोकिएर गत वर्षदेखि पुनः सुरु भएको यो यात्रा यस वर्ष जुनदेखि अगस्टसम्म सञ्चालन हुने गरी तयारी थालिएको हो ।

भारतको विदेश मन्त्रालयका अनुसार यस वर्ष लिपुलेक मार्गबाट ५०० तीर्थयात्रीहरूलाई भ्रमणको अनुमति दिइनेछ । ती यात्रीहरूलाई १० वटा समूहमा विभाजन गरिनेछ, जहाँ प्रत्येक टोलीमा ५० जना सदस्य रहनेछन् । यात्राको रूपरेखा तय गर्न जिल्ला प्रशासनले सम्बन्धित सबै विभागका अधिकारीहरूसँग समन्वय बैठक गरी तयारीलाई तीव्रता दिएको छ ।

लिपुलेक र कालापानी क्षेत्र नेपाली भूमि हुन् । तर यो अहिले भारतको नियन्त्रणमा छ । भारतले यो भूभाग आफ्नै भएको दाबी गर्दै आएको छ भने नेपालले औपचारिक रूपमै यसको विरोध जनाएको छ । यसबीचमा पटकपटक कूटनीतिक नोट पठाउँदा पनि कुनै वार्ता गरेको छैन । विदेश मन्त्रालयले यस वर्षको यात्रा लिपुलेक र सिक्किमको नाथु ला गरी दुईवटा मार्गबाट सञ्चालन गर्ने घोषणा गरेको छ ।

यात्राका लागि कुल २० वटा टोलीहरू पठाइनेछ । भारत सरकारले तीर्थयात्रीहरूको छनोट प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाएको छ । इच्छुक आवेदकहरूले आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिनुपर्नेछ । यात्रीहरूको छनोट कम्प्युटर प्रणालीबाट निष्पक्ष र लैङ्गिक सन्तुलन मिलाएर गरिने मन्त्रालयले जनाएको छ ।

चिनियाँ सरकारसँगको समन्वयमा आयोजना हुने यस यात्राको विस्तृत मिति भने विदेश मन्त्रालयले केही समयपछि सार्वजनिक गर्नेछ । आवेदनका लागि कुनै पनि भौतिक कागजात वा फ्याक्स पठाउनु नपर्ने र सम्पूर्ण जानकारी वेबसाइटमार्फत नै उपलब्ध गराइने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख १८ गते शुक्रबार