नेपालगन्ज उपमहानगरपालिका–८ स्थित महेन्द्र पार्कभित्र रहेको चिडियाखानामा बाहिरबाट छिरेका कुकुरले चित्तलको खोरमा आक्रमण गर्दा चार वटा चित्तल मरेका छन् । बाहिरबाट पार्कभित्र छिरेका कुकुरले खोरमा पसेर आक्रमण गर्दा दुई पोथी, एक भाले र एक बच्चा चित्तल मरेको चिडियाखानाका चौकीदार हरि घरुकले बताए ।
उनका अनुसार पूर्वतर्फको पर्खालबाट करिब ६ वटा कुकुर एकैपटक हाम फालेर खोरभित्र पसेका थिए । ‘यसअघि पनि कुकुरले अष्ट्रिचलाई घाइते बनाएका थिए । पर्खाल कमजोर छ भनेर पहिले नै जानकारी गराएको थिएँ, तर सुनुवाइ भएन,’ उनले भने । चिडियाखानाको पर्खाल होचो हुनुका साथै ठाउँठाउँमा जीर्ण भएकाले कुकुर तथा अन्य जनावर सजिलै भित्र प्रवेश गर्ने गरेको स्थानीयको भनाइ छ ।
घटनापछि उपमहानगरपालिकाले विषय लुकाउने प्रयास गरेको स्थानीयको आरोप छ । चिडियाखाना नजिकका शकील अन्सारीका अनुसार मृत चित्तलको पोस्टमार्टम नगरी गाडिएकाले मृत्युको कारणबारे शङ्का उत्पन्न भएको छ । उनले पोस्टमार्टम आवश्यक रहेको बताए । तर उपमहानगरपालिकाले सामान्य मुचुल्का तयार गरी मृत चित्तल गाडिएको जनाएको छ । स्थानीयका अनुसार चिडियाखानाको मर्मतका लागि हरेक वर्ष बजेट विनियोजन भए पनि प्रभावकारी काम भएको देखिँदैन ।
अर्का स्थानीय सुरेश गुप्ताका अनुसार गत आर्थिक वर्षमा मर्मतका लागि १० लाख रुपैयाँ विनियोजन भएको भनिए पनि काम भएको स्पष्ट जानकारी छैन । करिब २० वर्षअघि बनाइएको पर्खाल र खोरका जालीहरू खिया लागेर जीर्ण भइसकेका छन् । हरेक वर्ष नियमित मर्मत आवश्यक रहेको स्थानीयले बताएका छन् । पार्कभित्रका जनावरको उचित हेरचाह नहुँदा आलोचना बढेको छ । संरक्षण गर्न नसक्ने भए जनावरलाई जङ्गलमै छोड्नुपर्ने माग पनि स्थानीयले गरेका छन् ।
सत्यपाटी