गर्मी सुरु भइसकेको छ । खपिनसक्नुको घाम र गर्मीमा फिट रहन गाह्रो हुन सक्छ । अत्यधिक गर्मीमा सावधानी अपनाइएन भने कसरत गर्नु जति लाभदायक हुन्छ, त्यति नै जोखिमपूर्ण पनि हुन सक्छ । गर्मीमा व्यायाम गर्दा अत्यधिक पसिना आउँछ, जसले डिहाइड्रेसन र हिटस्ट्रोकको जोखिम बढाउँछ ।
यस मौसममा पनि आफ्नो फिटनेस दैनिकी यथावत् राख्न चाहनुहुन्छ भने तपाईँले आफ्नो बानीमा केही महत्त्वपूर्ण परिवर्तनहरू गर्न आवश्यक छ । यहाँ केही महत्त्वपूर्ण सुझावहरू छन्, जसले तपाईंलाई गर्मीमा सुरक्षित रूपमा कसरत गर्न मद्दत गर्नेछ ।
हाइड्रेसन – गर्मीमा पसिनाबाट शरीरले आवश्यक इलेक्ट्रोलाइटहरू गुमाउँछ । व्यायाम सुरु गर्नुभन्दा २०–३० मिनेटअघि कम्तीमा दुई गिलास पानी पिउनुहोस् । प्रत्येक १५–२० मिनेटमा पानी पिइरहनुहोस् । सादा पानीको अतिरिक्त, शरीरमा सोडियम र पोटासियम सन्तुलन कायम राख्न नरिवल पानी, कागती पानी, वा ओआरएस घोल पिउनुहोस् ।
सही समय – चर्काे घाममा कसरत गर्नाले स्वास्थ्यलाई हानि पुर्याउन सक्छ । बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म व्यायाम नगर्नुहोस् । गर्मीमा व्यायाम गर्ने सबैभन्दा राम्रो समय बिहान, हावा अलि चिसो भएको बेला हो । बिहान कसरत गर्न तपाईंसँग समय हुन्न भने साँझ पनि कसरत गर्न सक्नुहुन्छ ।
सही कपडा – जिमको कसिलो पहिरनले गर्मीमा असुविधा निम्त्याउन सक्छ । सधैं खुकुलो फिटिङ भएको सुती वा ड्राई फिट हुने कपडा लगाउनुहोस्, जसले पसिना सोस्छ र हावा आउन दिन्छ । गाढा रंगले गर्मी सोस्छ, त्यसैले हल्का रंगको लुगा छनोट गर्नुहोस् ।
वार्मअप र कुलडाउन – गर्मीमा मांसपेशीमा चाँडै तनाव उत्पन्न हुन्छ । त्यसकारण, भारी तौल उठाउनु वा छिटो दौडनुको सट्टा १० मिनेट स्ट्रेचिङ र हल्का वार्मअप गर्नुहोस् । कसरत समाप्त हुनेबित्तिकै चिसो पानीले नुहाउनु हुँदैन । आफ्नो शरीरको तापक्रम सामान्य स्तरमा फर्कन दिनुहोस्, त्यसपछि मात्रै नुहाएर रिल्याक्स हुनुहोस् ।
आफ्नो शरीरको संकेतहरू चिन्नुहोस् – कसरत गर्ने हाम्रो आवेगमा हामी प्रायः शरीरले दिइरहेका चेतावनीलाई बेवास्ता गर्छाैं । तपाईँले चक्कर लाग्ने, गम्भीर टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, गम्भीर मांसपेशी दुख्ने, वा असामान्य रूपमा छिटो मुटुको धड्कन अनुभव गर्नु भयो भने कसरत तुरुन्तै रोक्नुहोस् र डाक्टरसँग परामर्श गर्नुहोस् ।
सत्यपाटी