बाँकेका दुई चक्ला वनसहित १४ वटा सामुदायिक वनमा डढेलो लागेका कारण चार हजार पाँच हेक्टर क्षेत्रफल प्रभावित भएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । डिभिजन वन कार्यालय बाँकेका निमित्त प्रमुख सुशील सुवेदीले गत एक सातादेखि जिल्लाका विभिन्न १४ वटा वनमा सुरु भएको वन डढेलोका कारण चार हजार ५०० भन्दा बढी हेक्टर क्षेत्रफल प्रभावित भएको बताए ।
उनले वन डढेलोका कारण ती वनमा रहेका वन्यजन्तुको वासस्थानसमेत सङ्कटमा पर्न थालेको जनाउँदै डढेलो निभाउने प्रयास जारी रहेको जानकारी गराए । निमित्त प्रमुख सुवेदीका अनुसार शमशेरगन्ज माथेमा चक्ला वन, भुवरभवानी चक्ला वन, झिँझरी महिला सामुदायिक वन, राप्तीपीडित गुलरी सामुदायिक वन लगायत १४ सामुदायिक वनमा डढेलो लागेको छ ।
उनले बाहिरी क्षेत्रमा लागेको केही स्थानको डढेलो निभाइए पनि भित्रभित्र र अग्लो ठाउँको वनमा लागेको डढेलो नियन्त्रणमा आउन नसकेको जनाउए । अहिले वन कार्यालयसँग रहेको दुई हजार लिटर पानी अटाउने क्षमताको ट्याक्टर र वन डढेलो नियन्त्रणका लागि तयार गरिएको १४ जनाको डढेलो नियन्त्रण दस्ताले राजमार्ग आसपासका क्षेत्रमा मात्रै वन डढेलो निभाउन सकिएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।
जनशक्ति र स्रोत कम हुँदा समयमा डढेलो नियन्त्रण हुन नसकेको उल्लेख गर्दै निमित्त प्रमुख सुवेदीले सोही कारणले क्षति भइरहेको र डढेलो पनि फैलिँदै गएको बताए । उनका अनुसार जिल्लामा वनडढेलो नियन्त्रणमा लागि १४ जनाको डढेलो नियन्त्रण दस्ता निर्माण गरिएको छ भने दुई हजार लिटर पानी अटाउने क्षमताको ट्याक्टर तयार गरेर राखिएको छ ।
बाँकेमा करिब ५० हजार हेक्टर वनक्षेत्र रहेको जनाउँदै सुवेदीले डढेलो नियन्त्रणका लागि वनका भित्री भागसम्म जान सक्ने दमकल अति आवश्यक भएकाले दमकलको व्यवस्था गर्न माग गरे । उनले बढ्दो खडेरीले वनका भित्री क्षेत्रमा डढेलो झन् बढेको उल्लेख गर्दै केही दिनभित्र पानी परेन भने वनडढेलो झनै धेरै ठाउँमा बढ्ने खतरा रहेको प्रस्ट पारे ।
वन डढेलो नियन्त्रण गर्न डिभिजन वन कार्यालयले विभिन्न प्रकारका चेतनामूलक कार्यक्रम निरन्तर रूपमा जिल्लामा सञ्चालन गर्दै आएको र वनका उपभोक्ता तथा सामुदायिक वनका पदाधिकारीलाई पनि बेला बेला तालिम दिँदै आएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।
सत्यपाटी