२०८३ वैशाख ११ , शुक्रबार 24, April 2026, Friday

गाँजा नीतिमा युगान्तकारी परिवर्तन !

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ वैशाख ११ गते शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गाँजालाई संघीय कानुन अन्तर्गत ‘सेड्यूल १’ बाट हटाएर कम जोखिमपूर्ण मानिने ‘सेड्यूल ३’ मा राख्ने औपचारिक प्रक्रिया अघि बढाएको छ । हिजो चालिएको यस कदमलाई अमेरिकाको दशकौंदेखिको लागुऔषध नीतिमा आएको सबैभन्दा ठूलो र युगान्तकारी परिवर्तन मानिएको छ ।

यसअघि गाँजालाई हेरोइन र एलएसडी जस्ता कडा लागुऔषधको श्रेणीमा राखिएको भए पनि अब यसलाई ‘सेड्यूल ३’ मा झारिएपछि यसको दुरुपयोगको सम्भावना कम र चिकित्सा क्षेत्रमा उपयोगिता बढी भएको तथ्यलाई संघीय सरकारले आधिकारिक रूपमा स्वीकार गरेको छ ।

अनुसन्धान र व्यवसायमा पर्ने प्रभाव

यो नयाँ वर्गीकरणले वैज्ञानिकहरूलाई गाँजाको औषधीय गुणबारे विस्तृत अनुसन्धान गर्न सजिलो बनाउने मात्र नभई अमेरिकाका विभिन्न राज्यहरूमा वैध रूपमा गाँजा व्यवसाय गरिरहेका कम्पनीहरूका लागि ठूलो राहतको ढोका खोलेको छ ।

यस निर्णयले व्यवसायीहरूलाई संघीय करमा उल्लेख्य सहुलियत दिने र बैंकिङ सेवामा सहज पहुँच पुरेयाउने अपेक्षा गरिएको छ, जुन यसअघि कानुनी जटिलताका कारण निकै कठिन थियो ।

राज्य र संघबीचको कानुनी खाडल अन्त्य

अमेरिकाका ४० भन्दा बढी राज्यहरूमा चिकित्सा प्रयोजनका लागि गाँजा पहिले नै वैध भइसकेको थियो, तर संघीय कानुनले यसलाई अवैध मान्दै आएका कारण ठूलो कानुनी विरोधाभास कायम थियो ।

राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा गाँजाको औषधीय प्रयोग र यसको वर्गीकरण सुधार गर्ने जुन प्रतिबद्धता जनाएका थिए । सोही अनुरूप यो निर्णय आएको हो । यसले आगामी दिनमा अमेरिकाको अर्थव्यवस्था र सार्वजनिक स्वास्थ्य नीतिमा दूरगामी प्रभाव पार्ने निश्चित छ ।

पूर्ण वैधानिकता र अन्तर्राष्ट्रिय सन्दर्भ

स्मरणीय रहोस् कि यो निर्णयले गाँजालाई पूर्ण रूपमा ‘वैध’ भने गरेको छैन, तर यसको कानुनी दायरालाई निकै खुकुलो बनाउँदै चिकित्सा र व्यापारिक क्षेत्रका लागि नयाँ मार्ग प्रशस्त गरेको छ ।

नेपालमा पनि गाँजाको औषधीय र व्यावसायिक खेतीलाई वैधानिकता दिने बहस संसदमा चलिरहेको बेला, विश्वकै शक्तिशाली मुलुकले यसको जोखिम श्रेणी घटाउनुले अन्तर्राष्ट्रिय मञ्चमा गाँजा प्रतिको दृष्टिकोणमा ठूलो बदलाव ल्याउने देखिन्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८३ वैशाख ११ गते शुक्रबार