जीवनमा उज्यालो देख्नका लागि सधैँ आँखाको आवश्यकता पर्दैन, कहिलेकाहीँ आत्मविश्वास, मेहनत र दृढ इच्छाशक्तिले पनि बाटो देखाइदिन्छ । कैलालीको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डाका ४२ वर्षीय बिकटलाल चौधरी यसको उदाहरण हुन् । जन्मजात दृष्टिविहीन उनले अँध्यारोसँग हार माननेन्, बरु त्यही अँध्यारोभित्रबाट उज्यालो खोज्दै आफूमात्र होइन, हजारौँ विद्यार्थीको भविष्य उज्यालो बनाउने यात्रामा लागे ।
विसं २०६५ देखि जगदम्बिके भगवती माध्यमिक विद्यालयमा शिक्षण पेसामा संलग्न चौधरीले १५ वर्ष बढी समय कक्षाकोठामा बिताइ सकेका छन् । उनका लागि विद्यालय केवल जागिर खाने थलो मात्र होइन, जीवनको उद्देश्य हो । उनी कक्षामा उभिँदा आँखाले नदेखे पनि विद्यार्थीको क्षमता, सम्भावना र भविष्य देख्ने आत्मदृष्टिले उभिन्छन् । उनले पढाएका विद्यार्थीहरू आज विभिन्न क्षेत्रमा स्थापित छन् ।
गाउँबाट पढेका ती विद्यार्थीहरू सफल भएको देख्दा उनलाई आफ्नो सङ्घर्ष सार्थक भएको अनुभूति हुन्छ । उनी भन्छन्, ‘मैले दिएको सानो ज्ञानले पनि कसैको जीवन बदलिन्छ त्योभन्दा ठुलो खुसी अरू केही हुँदैन ।’ तर, उनको जीवन यात्रा सहज भने थिएन । सानै उमेरमा बुबा–आमा गुमाउनु प¥यो । पारिवारिक सहारा कमजोर बन्दै गयो । दृष्टि कमजोर हुँदा दैनिक जीवन झन् कठिन बन्दै गयो । दाजु पनि दृष्टिविहीन हुँदा दिदी, भिनाजु र बहिनीको सहारामा बाँच्नुपरेको उनी बताउँछन् ।
बाल्यकालमा भोगेका अपमान र पीडा आज पनि उनका स्मृतिमा ताजा छन् । गाउँमा कतिपयले उनलाई ‘अन्धो’ भनेर बोलाउँथे, सँगै हिँड्न हिचकिचाउँथे । हिँडडुल गर्न, विद्यालय जान दैनिक जीवनयापन निर्वाह गर्नलगायत सबै कुरा चुनौतीपूर्ण थियो । यी कठिनाइले उनलाई कमजोर बनाउनुको साटो अझ बलियो बनायो । सुरुमा आफूले पढ्न सक्दिनँ भन्ने लागे पनि एक जना शिक्षकको साथ र प्रेरणाले उनको सोच बदलियो ।
शिक्षकले घरमै आएर पढाइमा सहयोग गरेपछि उनको आत्मविश्वास बढ्दै गयो । उनले बुझ्दै गए की शारीरिक क्षमतामा सीमितता भए पनि सिक्ने चाहना र मेहनत भए सम्भावना असीमित हुन्छ । एसएलसी उत्तीर्ण गरेपछि उनले शिक्षण पेसामा पाइला टेके । त्यो समय उनका लागि केवल जागिर सुरु गर्ने क्षण थिएन, जीवनलाई नयाँ अर्थ दिने मोड थियो । दृष्टिविहीन भएर पनि कक्षामा उभिएर पढाउनु सजिलो थिएन ।
तर उनले कहिल्यै आफूलाई कमजोर ठानेनन् बरु कमजोरीलाई नै शक्ति बनाउँदै अघि बढे । अध्यापनसँगै उनले उच्च माध्यमिक तह उत्तीर्ण पनि गरे । कक्षामा उनी केवल पाठ्यपुस्तकका कुरा मात्र गदैनन् जीवनका अनुभव पनि साट्छन् । उनको पारिवारिक जीवन पनि सङ्घर्षपूर्ण छ । उनकी श्रीमती पनि दृष्टिविहीन छन् । १३ वर्षीय छोरी र दुई वर्षीय सानो छोराको जिम्मेवारी उनीहरूले मिलेर सम्हालिरहेका छन् ।
छोरीले सानो उमेरमै ठुलो जिम्मेवारी बोकेकी छन् । घरको कामकाजदेखि बाबुआमाको हेरचाहसम्ममा उनी सक्रिय छिन् । चौधरीको जीवनमा सङ्गीत र साहित्यले पनि विशेष स्थान ओगटेको छ । उनी कहिलेकाहीँ गीत गाउँछन् भने कविता पनि लेख्छन् । सानै कक्षामा पढ्दा लेखेको एउटा कविताले आज पनि उनको सोच झल्काउँछ, ‘आँखा बन्द भए पनि दिमाग बन्द हुँदैन’ यही विश्वासले उनलाई निरन्तर अघि बढ्न ऊर्जा दिएको छ ।
समाजमा अपाङ्गता भएका व्यक्तिहरूप्रति दृष्टिकोण बिस्तारै बदलिँदै गएको छ । ‘पहिले हेप्नेहरू आज सम्मानका साथ बोलाउँछन्, सल्लाह माग्छन्,’ उनी भन्छन् । गाउँमा कुनै कार्यक्रम हुँदा उनलाई विशेष रूपमा बोलाइन्छ । उनी अब केवल एउटा व्यक्ति मात्र होइन, अनुभव र प्रेरणाको स्रोत बनेका छन् । उनका विचारमा अपाङ्गता भएका व्यक्तिहरूलाई दया होइन, अवसर चाहिन्छ । ‘हामीलाई कमजोर ठानेर पछाडि राख्नु हुँदैन, अवसर दिइयो भने हामी पनि काम गर्न सक्छौँ,’ उनी भन्छन् ।
सत्यपाटी