अमेरिका र इरानबीचको जारी युद्धका कारण विश्वव्यापी तेल आपूर्तिमा अवरोध सिर्जना भएपछि चिनियाँ जहाज कारखानाहरू नयाँ अवसरका रूपमा उदाएका छन् । विशेषगरी होर्मुज स्ट्रेटमा लगाइएको नाकाबन्दीले कच्चा तेल ढुवानीमा समस्या उत्पन्न भएपछि विश्वभरका ढुवानी कम्पनीहरूले ठूला तेल ट्याङ्कर निर्माणका लागि चीनतर्फ हात बढाएका छन् ।
एक पटकमा करिब २० लाख ब्यारेल तेल ढुवानी गर्न सक्ने यी ट्याङ्करहरूको माग अहिले उच्च देखिएको छ । होर्मुज स्ट्रेट विगत आठ हप्तादेखि अवरुद्ध हुँदा तेलको मूल्य ऐतिहासिक रूपमा बढेको छ । जोखिमपूर्ण यात्राबाट बच्न ट्याङ्करहरूले लामो रुट प्रयोग गर्नुपरेकाले ढुवानी क्षमतामा कमी आएको छ । यसैको फाइदा उठाउँदै चिनियाँ जहाज निर्माताहरूले आफ्नो बलियो क्षमता, कम लागत र छिटो डेलिभरी दिने प्रतिबद्धताका कारण नयाँ अर्डरहरू प्राप्त गरिरहेका छन् ।
हालैका हप्ताहरूमा स्विजरल्याण्ड र सिंगापुरका ठूला कम्पनीहरूले चिनियाँ कारखानाहरूलाई ट्याङ्कर निर्माणको जिम्मा दिएका छन् । स्विजरल्याण्डको एडभान्टेज ट्याङ्कर्सले यसअघि दक्षिण कोरियामा भर पर्दै आएको भए पनि हालै चीनलाई दुईवटा विशाल ट्याङ्कर निर्माणको अर्डर दिएको छ । यी जहाजहरू सन् २०२८ र २०२९ सम्ममा तयार हुने अपेक्षा गरिएको छ ।
त्यस्तै, जेनेभामा आधारित मर्कुरिया इनर्जी ग्रुपले झण्डै ६५ करोड अमेरिकी डलर बराबरको सम्झौता गर्दै चारवटा ठूला ट्याङ्कर र दुईवटा उत्पादन ट्याङ्कर निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई सुम्पेको छ । सिंगापुरको याङ्जीजियाङ म्यारिटाइम डेभलपमेन्टले पनि पहिलो पटक आठवटा ठूला ट्याङ्कर निर्माणका लागि चीनसँग सम्झौता गरेको छ । युद्धका कारण सिर्जना भएको यो संकटले जहाजहरूको बजार मूल्यमा पनि उल्लेख्य वृद्धि गराएको छ ।
उदाहरणका लागि, स्विजरल्याण्डको एडभान्टेज ट्याङ्कर्सले पहिले ११ करोड ९० लाख डलरमा खरिद गरेको एउटा निर्माणाधीन ट्याङ्करको मूल्य अहिले बढेर १५ करोड २० लाख डलर पुगेको छ । विश्वभरका पुराना जहाजहरू प्रतिस्थापन गर्नुपर्ने र वैकल्पिक रुटहरू लामो हुँदा थप जहाज चाहिने भएपछि चिनियाँ जहाज निर्माण उद्योगका लागि यो समय स्वर्ण युग सावित भएको छ ।
सत्यपाटी