२०८३ वैशाख ९ , बुधबार 22, April 2026, Wednesday

राप्तीसोनारीमा सेनाको निःशुल्क स्वास्थ्य शिविर

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ वैशाख ९ गते बुधबार

नेपाली सेनाद्वारा बाँकेको राप्तीसोनारीमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सो क्षेत्रका एक हजार भन्दा बढी नागरिकले निःशुल्क विशेषज्ञ स्वास्थ्य उपचार सेवा लिएका छन् ।

जिल्लाको दुर्गम मानिने तथा स्वास्थ्य सेवाको समेत निकै कम पहुँच रहेको राप्तीसोनारी गाउँपालिकामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गरिएपछि ठुलो सङ्ख्यामा सर्वसाधारणले विशेषज्ञ उपचार सेवा पाएको नेपाली सेनाको श्री रणबम गणले जनाएको छ ।

श्री रणबम गण ओभरी ब्यारेक र राप्तीसोनारी गाउँपालिकाको संयुक्त आयोजनामा बाँकेको राप्तीसोनारी गाउँपालिका–८, पेरानीमा आयोजित सो शिविरमा एक हजार ९७ जनाले विशेषज्ञ सेवा लिएको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताए ।

उनका अनुसार उक्त शिविरमा ल्याब सेवा २१२ जनाले, मेडिसिन सेवा ६८ जनाले, अर्थोपेडिक सेवा ८७ जनाले, दन्त सेवा ५८ जनाले, जनरल ओपिडी सेवा ३४० जनाले, आँखा सेवा २२८ जनाले, इको सेवा ३९ जनाले तथा पाठेघरको मुखको क्यान्सरसँग सम्बन्धित सेवा ६५ जनाले लिएका थिए ।

शिविरमा आएका अधिकांश सेवाग्राहीले उपलब्ध सबै प्रकारका सेवाहरू उपयोग गरेको स्वास्थ्य शाखा प्रमुख केसीले बताए । उत्तर–पश्चिम पृतनापति उपरथी दिपेशजङ्ग शाहले यस्ता शिविरहरूले नागरिक र नेपाली सेनाबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित बिरामीलाई उपचारको पहुँचमा ल्याउने बताए ।

उनले निःशुल्क स्वास्थ्य शिविरले अपेक्षित उद्देश्य हासिल गरेको बताए । राप्तीसोनारी गाउँपालिकाकी कार्यवाहक अध्यक्ष मनिषासिंह थारूले गाउँघरमै विशेषज्ञ चिकित्सकसहितको निःशुल्क उपचार सेवा उपलब्ध हुँदा उपचारबाट वञ्चित महिला तथा पुरुषहरूलाई निकै सहज भएको बताइन्् ।

सो शिविरमा सैनिक अस्पताल नेपालगन्जका आँखा रोग विशेषज्ञ डा.सागरराज कर्णिकार, अर्थोपेडिक सर्जन डा.अर्जुन पौडेल, दन्तरोग विशेषज्ञ डा.आश्मा राना, जनरल फिजिसियन डा.मुक्तीनाथ साँची तथा मेडिकल अधिकृतहरू डा.केदार बाबु डागर, भुवन चपाइँ, डा.अरुणा न्यौपाने र डा.ववी शाह लगायतको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो ।

त्यसैगरी गाउँपालिकाबाट स्वास्थ्य शाखा प्रमुख केसीको नेतृत्वमा खटिएको टोलीले महिलाहरूमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी भिआइए परीक्षण गरेको थियो । तालिमप्राप्त स्टाफ नर्स वविता नगरकोटी र परिवार नियोजन सङ्घबाट खटिएकी स्टाफ नर्स कुसुम श्रेष्ठले उक्त परीक्षण गरेका थिए ।

सो अवसरमा राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनिराम खराल, नेपाल सेनाको ४ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी प्रशान्त विक्रम राणा, बज्रदल गणका प्रमुख सेनानी रामचन्द्र श्रेष्ठ र रणबम गणका प्रमुख सेनानी खीमबहादुर डाँगी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८३ वैशाख ९ गते बुधबार