२०८३ वैशाख १७ , बिहीबार 30, April 2026, Thursday

कसरी पाउने गहिरो निद्रा ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ वैशाख ९ गते बुधबार

निद्रा मानव जीवनका लागि अति आवश्यक कुरा हो । जसरी स्वस्थ बन्नका लागि पोषिलो खानपान, व्यायाम र मानसिक सन्तुष्टि लगायतका कुराहरू आवश्यक पर्छन्, त्यसरी नै निद्रा पनि अत्यावश्यक छ ।

निद्राले थकाइ घटाउने, मनलाई शान्त बनाउने, शरीरलाई पुनर्ताजगी प्रदान गर्ने र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने काम गर्छ । साथै मानसिक कार्यक्षमता, जस्तैः स्मरण शक्ति, एकाग्रता, ध्यान र रचनात्मकतालाई बढावा दिन पनि निद्राको जरुरी हुन्छ ।

उमेर अनुसार मानिसलाई निद्राको आवश्यकता पनि फरक–फरक हुने गर्छ । शारीरिक कार्यहरू जस्तै हर्मोनहरूको सन्तुलन, मुटु र रक्तसञ्चार स्वास्थ्यको सुदृढीकरण, मेटाबोलिज्म सुधार र तौल नियन्त्रण गर्ने, सौन्दर्यता बढाई छालामा चमक ल्याउने जस्ता अनेकौँ कार्य निद्राले गर्ने वरिष्ठ योग तथा प्राकृतिक चिकित्सक डा.हेमराज कोइराला बताउँछन् ।

कसलाई दैनिक कति निद्राको आवश्यकता पर्छ ?

सामान्यतया वयस्कहरूका लागि दैनिक सातदेखि आठ घण्टा गुणस्तरीय निद्रा आवश्यक मानिन्छ । स्वस्थ जीवनशैलीका लागि यो समय शरीरलाई आराम दिन र मस्तिष्क सक्रिय राख्न जरुरी छ । उमेर अनुसार निद्राको आवश्यकता फरक पर्छ; नवजात शिशुलाई १४–१७ घण्टा, बालबालिकालाई नौ–बाह्र घण्टा र वृद्धवृद्धालाई सात–आठ घण्टा निद्रा आवश्यक हुन सक्छ ।

उमेर अनुसार आवश्यक निद्रा

  • नवजात शिशु (०–३ महिना) – १४ देखि १७ घण्टा
  • शिशु (४–१२ महिना) – १२ देखि १६ घण्टा
  • बालबालिका (१–५ वर्ष) – १० देखि १४ घण्टा
  • विद्यालय जाने उमेर (६–१३ वर्ष) – ९ देखि १२ घण्टा
  • किशोरकिशोरी (१४–१७ वर्ष) – ८ देखि १० घण्टा
  • वयस्क (१८–६४ वर्ष) – ७ देखि ९ घण्टा
  • वृद्धवृद्धा (६५+ वर्ष) – ७ देखि ८ घण्टा

गहिरो निद्राका लागि टिप्स

  • सुत्ने र उठ्ने निश्चित समय बनाउनुहोस् ।
  • सुत्नुअघि मोबाइल वा टिभी नहेर्नुहोस् ।
  • कोठा शान्त, अध्याँरो र आरामदायी बनाउनुहोस् ।
  • नियमित व्यायाम गर्नुहोस् ।
प्रकाशित मिति : २०८३ वैशाख ९ गते बुधबार