नेपालमा कतै भारी वर्षा भइरहँदा तराईमा भने तापक्रम बढ्दो क्रममा छ । तातो अझै बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् सरोज पुडासैनीका अनुसार मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभाग साथै उपत्यका र खोँचहरूमा तातो दिन तथा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पश्चिमी तराईमा तातो लहर चल्ने सम्भावना रहेको बताए ।
विभागको अद्यावधिक सूचना हेरेर आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ । विभागमा आइतबार साँझ प्राप्त विवरण अनुसार सबैभन्दा बढी नेपालगन्जमा अधिकतम तापक्रम ४०.३ डिग्री मापन भएको छ । शनिबार नेपालगन्जमा ३९ डिग्री मापन गरिएको थियो । दिपायलमा पनि ४० डिग्री तापक्रम मापन भएको छ । दिपायलमा हिजो ३८.८ डिग्री मापन गरिएको थियो ।
शनिबार धनगढीमा ३८.२ डिग्री तापक्रम रहेकामा आइतबार बढेर ३९.४ डिग्रीमा पुगेको छ । काठमाडौँमा शनिबार २८.४ रहेकामा आइतबार बढेर २९ डिग्री मापन गरिएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँहरूमा भने वर्षा पनि भइरहेको छ । केही जिल्लामा भारी वर्षासमेत भएको छ । कास्कीमा ५७.४ र सिन्धुपाल्चोकमा ६८.४ मिलिमिटर वर्षा भएको छ ।
यस्तै गोरखा, लमजुङ, सोलुखुम्बु खोटाङ, धनकुटा, सङ्खुवासभामा मध्यम वर्षा भएको छ भने अन्य धेरै स्थानमा हल्का वर्षा भएको छ । अहिले नेपालमा पश्चिम क्षेत्रमा भन्दा पूर्वमा मौसम परिवर्तन भएको छ । भोलि सोमबार कोशी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्ने विभागले आज साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ ।
कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागलगायत देशका बाँकी हिमाली भूभागका थोरै स्थान तथा बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । यता मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको विभागले जनाएको छ ।
सत्यपाटी