२०८३ वैशाख ७ , सोमबार 20, April 2026, Monday

आज अक्षय तृतीया : शुभ कार्यका लागि साइत हेर्नु नपर्ने

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ वैशाख ७ गते सोमबार

आज वैशाख शुक्ल तृतीया, अर्थात् ‘अक्षय तृतीया’ पर्व । सनातन हिन्दु धर्ममा यस तिथिलाई अत्यन्तै शुभ र सिद्धिदायक मानिन्छ । ‘अक्षय’को शाब्दिक अर्थ ‘कहिल्यै नाश नहुने’ वा ‘सधैँ बढिरहने’ हुन्छ । त्यसैले, आजको दिन गरिने पुण्य, दान, जप, तप र होमजस्ता कर्मले अक्षय फल प्रदान गर्ने शास्त्रीय मान्यता छ ।

स्कन्द पुराणमा अक्षय तृतीयाको महिमाबारे स्पष्ट उल्लेख छ :

‘वैशाखे शुक्लपक्षे तु तृतीयायां विशेषत ।
यत् कृतं तु दानादि तदक्षयम् भवेत ।’

अर्थात्, वैशाख शुक्ल तृतीयामा गरिएको दान आदि कर्म कहिल्यै नष्ट हुँदैन र त्यसको फल अनन्त रहन्छ । भविश्य पुराणमा भनिएको छ, अक्षय तृतीयालाई सबै सिद्धिदायक तिथि मानिन्छ । वैशाख महिनामा सूर्य ग्रह मेष राशिमा गोचर गरी उच्च हुने र आज चन्द्रमा पनि वृष राशिमा गोचर गरी उच्च भएको हुनाले आजको दिन अत्यन्तै शुभ रहेको छ ।

ज्योतिष शास्त्रीय दृष्टिकोणले हेर्दा, अक्षय तृतीया ‘अबूझ मुहूर्त’ को रूपमा परिचित छ । सूर्य र चन्द्रमा दुवै शक्तिशाली अवस्थामा रहने हुँदा कुनै पनि शुभ कार्यका लागि पृथक् मुहूर्त अन्वेषण आवश्यक पर्दैन । अतः घरको जग पूजा, गृहप्रवेश, व्रतबन्ध, विवाह, व्यापारारम्भ आदि कार्यहरू स्वतः सिद्ध मानिन्छन् । आजकै तिथीबाट सत्ययूग आरम्भ भएको मानिन्छ ।

यूगादि तिथिमा विधिवत् धारसमुद्रमा स्नान गर्ने मानिसले कुरुक्षेत्रमा हजार गाई दान गरेको फल र भूमि दान गरेको फल समेत प्राप्त गर्दछ भनी शास्त्रमा वर्णन गरिएको छ । आज गरिने सत्कर्मले अनन्त सम्म फल प्राप्त भइरहन्छ । आजको दिन वा वैशाख महिनाभर गंगाजलले वा गंगाजल मिसिएको पानीले स्नान गरे सबै पापबाट मुक्त हुने कुरा शास्त्रमा उल्ले गरिएको छ ।

साधकले जौ ले हवन गर्नुपर्दछ, जौ ले नै विष्णु भगवान्को पूजा गर्नुपर्दछ । जौ दान गर्नुपर्दछ र कर्ताले जौबाट निर्मित भोजन गर्नुपर्दछ । देवी पुराणमा भनिएको छ, आजको दिन रोहिणी नक्षत्र परेमा (आज रोहिणी नक्षत्र परेको छ) जलकुम्भ (पानीले भरिएको घडा) को पूजा गरी दान गर्दा साधकलाई शिवलोक प्राप्त हुन्छ ।

आजको दिन जौ को सातु र सर्बत ग्रहण गर्दा समस्त पापबाट मुक्त भई ऐहिक एवं परलौकिक सुख शान्ति प्राप्त हुन्छ । पुराण अनुसार, यसै दिन पाण्डव हरूले अक्षय पात्र प्राप्त गरेका थिए, जसबाट कहिल्यै अन्न सकिँदैनथ्यो । यसले ‘अक्षय’ अर्थात् अनन्तताको भावलाई स्पष्ट रूपमा प्रस्तुत गर्दछ । भविष्य पुराणमा यस तिथिलाई सर्वसिद्धिदायिनी एवं पुण्यप्रदा तिथि भनेर वर्णन गरिएको छ । यस दिन भगवान् विष्णु तथा देवी लक्ष्मी को आराधना विशेष फलदायी मानिन्छ ।

अक्षय तृतीया पूजा विधि

ब्रह्ममुहूर्तमा उठी नजिकको नदी, धारा वा घरमै शुद्ध जलले स्नान गरी सफा (सेतो वा पहेँलो) वस्त्र धारण गर्नुपर्दछ । घरको पूजास्थलमा भगवान् विष्णु र देवी लक्ष्मी को स्थापना गरी दीप, धूप, फूल, अक्षता अर्पण गर्ने र ‘ॐ नमो भगवते वासुदेवाय’ मन्त्र जप गर्ने गर्नुपर्दछ । अन्न (चामल, गहुँ),जल (घडा वा पानी), वस्त्र, स्वर्ण (सक्नेले) दान गर्दा फलदायी मानिन्छ । व्रत बसी गीता, विष्णु सहस्रनाम पाठ गर्ने, सकेसम्म सत्सङ्ग वा ध्यान गर्नुपर्दछ ।

प्रकाशित मिति : २०८३ वैशाख ७ गते सोमबार