वर्षाका कारण बिपी राजमार्ग अन्तर्गत काभे्रको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । कटुञ्जे–मङ्गलटार सडकखण्डको विभिन्न स्थानमा ‘डाइभर्सन’ बगाएका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
डाइभर्सन मर्मत सुरु गरिए पनि आवागमन सुचारु गर्न केही घण्टा लाग्ने भएकाले कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढेपछि राजमार्गमा यसअघि निर्माण गरिएको अस्थायी डाइभर्सन बगाएको हो ।
गत सालको बाढीपहिरोले बिपी रागमार्गको रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किलोमिटर सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । यस्तै गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानको चार किलोमिटर बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो ।
यसैबीच, राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनलाई अहिले राजमार्गको प्रवेशमार्ग धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको छ । राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न अपिलसमेत गरिएको छ ।
गतसाल असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्णरुपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आएको थियो । हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
सत्यपाटी