२०८३ वैशाख ५ , शनिबार 18, April 2026, Saturday

इरानले फेरि बन्द गर्‍यो होर्मुज, हवाइ क्षेत्र आंशिक खुल्ला

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ वैशाख ५ गते शनिबार

इरानले समुद्री मार्ग स्ट्रेट अफ होर्मुज पुनः बन्द गरिएको घोषणा गरेको छ । इरानले विश्वको अत्यन्तै महत्वपूर्ण समुद्री मार्ग होर्मजु खुला गर्ने निर्णय गरेको २४ घण्टा नबित्दै पुन बन्द गर्ने घोषणा गरेको हो ।

अमेरिकाले लगाएको नाकाबन्दी हटाएपछि मात्र यो समुद्री मार्ग पुनः खोलिने इरानी सेनाले बताएको छ । इरानका सैन्य अधिकारीहरूका अनुसार, अमेरिकी नाकाबन्दी जारी रहेसम्म होर्मुज जलमार्ग खुला राख्न नसकिने स्पष्ट पारेको छ ।

साथै, इरानले अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भन्दै कडा आपत्ति जनाएको छ । हिजो साँझ इरानका विदेशमन्त्री अब्बास अराघचीले होर्मुज जलमार्गलाई ‘युद्धविरामको बाँकी अवधिसम्म’ व्यापारका लागि पूर्णरूपमा खुला राखिने घोषणा गरेका थिए ।

तर उक्त घोषणा गरेको २४ घण्टा नबित्दै बन्द गरेको घोषणा गरेको हो । स्ट्रेट अफ होर्मुज विश्वको प्रमुख तेल आपूर्ति मार्ग हो, जहाँबाट विश्वको करिब २० प्रतिशत कच्चा तेल ढुवानी हुन्छ । यस मार्गमा तनाव बढेसँगै अन्तर्राष्ट्रिय तेल बजार र समुद्री व्यापारमा असर पर्ने चिन्ता व्यक्त गरिएको छ ।

इरानी हवाइ क्षेत्र आंशिक खुल्ला

इरानले आफ्नो आंशिक हवाई क्षेत्र र केही एयरपोर्टहरू शनिबार देखि आंशिक रूपमा पुनः खोलेको इरानी नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । इरानको पूर्वी क्षेत्रको हवाई क्षेत्र, केही एयरपोर्टहरू र हवाई मार्गहरू अन्तर्राष्ट्रिय उडानहरूको लागि पुनः खोलिएको प्राधिकरणले विज्ञप्ति जारी गर्दै पुष्टि गरेको छ ।

देशको सैन्य र नागरिक अधिकारीहरूले प्राविधिक र परिचालन तयारी पूरा गरेपछि इरानी एयरपोर्टहरूमा उडान सञ्चालन बिस्तारै सामान्य हुन जनाइएको छ । गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त आक्रमण गरेपछि इरानले आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो ।

प्रकाशित मिति : २०८३ वैशाख ५ गते शनिबार