२०८३ वैशाख ४ , शुक्रबार 17, April 2026, Friday

आस्था, परम्परा र सांस्कृतिक चेतनाले भरिँदै मिथिला

सत्यपाटीसत्यपाटी । जनकपुरधाम । २०८३ वैशाख ४ गते शुक्रबार

मिथिलाको प्राचीन धार्मिक नगरी जनकपुरधाम पुनः एकपटक आस्था, परम्परा र सांस्कृतिक चेतनाले भरिने तयारीमा छ । प्रत्येक वर्षझैँ यस वर्ष पनि जानकी मन्दिरमा जानकी जन्म महामहोत्सव भव्य रूपमा आयोजना हुँदैछ । यही वैशाख ५ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने यो महोत्सव केवल धार्मिक अनुष्ठानमा सीमित नरही मिथिला सभ्यताको गहिरो सांस्कृतिक जरा, सामाजिक एकता र आध्यात्मिक ऊर्जा पुनर्जीवित गर्ने अवसरका रूपमा स्थापित हुँदै आएको छ ।

जनकपुरधामका हरेक गल्ली, मठमन्दिर र पोखरीहरूमा धार्मिक इतिहासको सुगन्ध फैलिएको छ, त्यही भूमिमा अवस्थित जानकी मन्दिर यस उत्सवको केन्द्रविन्दु हो । माता जानकी अर्थात् सीताको जन्मभूमिका रूपमा चिनिने यस स्थलमा आयोजना हुने जन्मोत्सवले बर्सेनि हजारौँ श्रद्धालु, साधुसन्त, पर्यटक र सांस्कृतिक अध्येता आकर्षित गर्ने गरेको छ । यस वर्षको महोत्सव पनि त्यही परम्परालाई निरन्तरता दिँदै अझ व्यापक र व्यवस्थित ढङ्गले सम्पन्न गर्ने तयारी गरिएको छ ।

मन्दिरका महन्त राम तपेश्वर दास वैष्णवका अनुसार यो महोत्सव केबल धार्मिक आस्थाको विषयमात्र होइन, मिथिलाको समृद्ध सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने एउटा महत्त्वपूर्ण माध्यम हो । उनका अनुसार यस्ता पर्वहरूले समाजलाई एकतामा बाँध्ने, आपसी सद्भाव बढाउने र नयाँ पुस्तालाई आफ्नो मौलिक परम्पराप्रति सचेत गराउने काम गर्छन् । यही भावनालाई आत्मसात् गर्दै महोत्सवको कार्यक्रमहरू तयार पारिएको छ । मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले पनि यस उत्सवले धर्मको सीमाभन्दा माथि उठेर सम्पूर्ण समुदायलाई जोड्ने सेतुको काम गरेको बताए ।

उनका अनुसार यस महोत्सवमा सहभागी हुनु केवल धार्मिक कर्तव्यमात्र होइन, सांस्कृतिक जिम्मेवारी पनि हो । महोत्सव अवधिभर दैनिक रूपमा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछन् । प्रत्येक दिन अपराह्न ४ः०० बजेदेखि मन्दिर प्राङ्गणमा श्रीराम कथावाचन गरिने कार्यक्रम तय गरिएको छ । यस कार्यक्रममा देश तथा विदेशबाट आएका भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ । रामकथाले भगवान् राम र माता सीताको जीवनदर्शन, आदर्श र नैतिक मूल्य मान्यताहरूलाई जनमानसमा पुनः स्मरण गराउने विश्वास लिइएको छ ।

त्यस्तै, साँझ ७ः०० बजेदेखि मन्दिरको गर्भगृहमा जन्म बधाई गान तथा विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछन् । यी कार्यक्रमहरूमा मिथिलाको मौलिक झल्को दिने नृत्य, गीत, भजन तथा झाँकीहरू प्रस्तुत गरिनेछन् । विशेषगरी युवापुस्तालाई लक्षित गरी उनीहरूको सक्रिय सहभागितालाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ । यसले नयाँ पुस्तामा आफ्नो संस्कृति र परम्पराप्रति गर्वको भावना जागृत गराउने अपेक्षा गरिएको छ । महोत्सवको अर्को महत्त्वपूर्ण आकर्षणका रूपमा अखण्ड रामायण पाठ रहनेछ । मन्दिर प्राङ्गणमा सञ्चालन हुने यस पाठमा श्रद्धालुहरू दिनरात सहभागी भई आध्यात्मिक शान्ति र आत्मिक सन्तोष प्राप्त गर्न सक्नेछन् ।

निरन्तर रूपमा हुने रामायण वाचनले वातावरणलाई भक्तिमय बनाउँदै सहभागीहरूलाई ध्यान र साधनामा केन्द्रित गराउने विश्वास गरिएको छ । वैशाख १२ गते महोत्सवको मुख्य दिनका रूपमा विशेष कार्यक्रमहरू आयोजना गरिनेछन् । बिहान ५ः३० बजे दुधमती शाही स्नानका लागि भव्य शोभायात्रा जानकी घाटतर्फ प्रस्थान गर्नेछ । यस शोभायात्रामा बाजागाजा, धार्मिक ध्वजापताका र झाँकीहरूले वातावरणलाई उत्सवमय बनाउनेछन् । शाही स्नानलाई अत्यन्त पवित्र मानिन्छ, जसमा सहभागी हुँदा पापक्षय हुने र पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । दिउँसो १२ बजे जन्म आरती तथा बधाई गान सम्पन्न हुनेछ ।

आरतीको दृश्य, घण्टानाद, मन्त्र उच्चारण र भक्तजनहरूको सहभागिताले सम्पूर्ण वातावरण आध्यात्मिक ऊर्जाले भरिनेछ । यो क्षणलाई महोत्सवको चरम बिन्दुका रूपमा लिइन्छ । त्यसै दिन अपराह्न ४ः०० बजेदेखि मन्दिरबाट डोला शोभायात्रा निकालिनेछ । यो शोभायात्रा मिथिलाको परम्परागत शैलीमा सजाइनेछ, जसमा विभिन्न झाँकीहरू, लोकनृत्य, बाजागाजा र धार्मिक प्रस्तुतिहरू समावेश हुनेछन् । यसले केवल धार्मिक महत्वमात्र होइन, सांस्कृतिक विविधताको प्रदर्शन पनि गर्नेछ । स्थानीयवासी, कलाकार र विभिन्न सङ्घसंस्थाको सहभागिताले शोभायात्रालाई अझ आकर्षक बनाउने अपेक्षा गरिएको छ । साँझ ७ः३० बजे आयोजना गरिने विशेष आरती तथा दिपोत्सव कार्यक्रममा मन्दिर परिसर हजारौँ दीपहरूले उज्यालो बनाइनेछ, जसले शान्ति, आशा र सकारात्मकताको सन्देश प्रवाह गर्नेछ ।

महोत्सवलाई सफल र व्यवस्थित बनाउन आयोजकहरूले सुरक्षा, सरसफाइ, यातायात तथा श्रद्धालुहरूको सुविधामा विशेष ध्यान दिएका छन् । स्थानीय प्रशासन, सुरक्षा निकाय र विभिन्न स्वयंसेवी संस्थाहरूको सहकार्यमा आवश्यक तयारी तीव्र रूपमा अगाडि बढाइएको छ । भीड व्यवस्थापन, स्वास्थ्य सेवा, खानेपानी र सरसफाइको उचित व्यवस्था मिलाइएको जनाइएको छ । स्थानीयवासीहरूमा महोत्सवप्रति उत्साह र उमङ्ग उच्च देखिएको छ । उनीहरूका अनुसार यस्ता पर्वहरूले जनकपुरधामको पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् ।

साथै, यसले स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने गर्दछ । होटल, यातायात, हस्तकला, खाद्य व्यवसायलगायत विभिन्न क्षेत्रहरूमा चहलपहल बढ्नेछ । मिथिलाको सांस्कृतिक सम्पदा, जसमा मैथिली भाषा, लोककला, परम्परागत पोशाक, विवाह संस्कार र धार्मिक अनुष्ठानहरू समावेश छन्, यस्ता महोत्सवहरूकै माध्यमबाट संरक्षण र प्रवद्र्धन हुँदै आएको छ । जानकी जन्म महोत्सवले यस सम्पदालाई जीवन्त राख्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने महत्त्वपूर्ण कार्य गरिरहेको छ । आजको आधुनिक र व्यस्त जीवनशैलीमा मानिसहरू आफ्नो मौलिक संस्कृति र परम्पराबाट टाढिँदै गएको सन्दर्भमा यस्ता महोत्सवहरूले पुनः आफ्नो पहिचानतर्फ फर्काउने अवसर प्रदान गर्छन् ।

यसले केवल धार्मिक आस्थामात्र होइन, सामाजिक समानता, सहिष्णुता र आपसी सम्मानलाई पनि बलियो बनाउने कार्य गर्दछ । पछिल्लो समय जानकी जन्म महामहोत्सवलाई केवल एउटा धार्मिक कार्यक्रमको रूपमा मात्र नभई मिथिलाको आत्मा, इतिहास र सांस्कृतिक चेतनाको उत्सवका रूपमा लिन थालिएको छ । यसले समाजलाई सकारात्मक ऊर्जा प्रदान गर्दै एकता, सद्भाव र आध्यात्मिक उन्नतिको मार्गमा अग्रसर गराउने विश्वास गरिएको छ । जनकपुरधाममा आयोजना हुने यो महोत्सवले फेरि एकपटक सम्पूर्ण मिथिला क्षेत्रलाई आस्था र संस्कृतिको उज्यालोमा डुबाउने निश्चित छ ।

प्रकाशित मिति : २०८३ वैशाख ४ गते शुक्रबार