बाँकेमा वर्षेनी गहुँखेती गर्ने क्षेत्र घट्दै गएको छ । पर्याप्त सिँचाई, उन्नत जातको बीउ, समयमै मल नपाइने र अनुकूल मौसमका कारण बाँकेमा वर्षेनी गहुँ खेती घट्दै गएको हो । वर्षेनी बाँके जिल्लामा गहुँखेती गर्ने क्षेत्र घट्दै गए पनि गत वर्षको तुलनामा यस वर्ष उत्पादनमा भने वृद्धि भएको छ ।
‘खेती गर्ने जग्गाको क्षेत्रफल घटे पनि यस वर्ष गत वर्षभन्दा गहुँ बढी उत्पादन हुने अध्ययनले देखाएको छ,’ कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी बरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले भने, ‘बीउको प्रतिस्थापन दर बढ्दो भएका कारण र किसानले हाइब्रिड जातको बीउको बढी प्रयोगका कारण पनि उत्पादनमा वृद्धि भएको हो ।’
उनका अनुसार बाँकेमा गत वर्ष २० हजार ८९५ हेक्टर क्षेत्रफल जमिनमा गरिएको गहुँखेतीबाट ७७ हजार ७०८ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । यो वर्ष समयमै बर्सात भइरहेको र कुनै किसिमको रोग तथा कीराको सङ्क्रमण नभएकाले गत वर्षको तुलनामा गहुँको उत्पादन वृद्धि हुने भएको छ ।
उन्नत जातको बीउ, सिँचाइ र अनुकूल मौसमका कारण यो वर्ष गहुँखेती उत्पादन वृद्धि हुने सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए । समयसमयमा किसानका खेतमै पुगेर गहुँबालीको अनुसन्धान गर्ने, बाली उपचार शिविरको सञ्चालन गर्ने, घुम्ती स्थलगत तालिम तथा विभिन्न सचेतना कार्यक्रम गर्ने गरेका कारण पनि क्षेत्रफल घटे पनि उत्पादनमा वृद्धि भएको पाठकको भनाइ छ ।
बाँके जिल्लाका किसान यतिबेला वर्षभरिको पसिनाको फल सुरक्षित गर्ने निर्णायक घडीमा छन् । गत वर्षभन्दा यो वर्ष बाँकेमा गहुँखेती उत्पादन वृद्धि भएको डुडुवा गाउँपालिकाका कृषि शाखा प्रमुख सुशील शर्मा बताउँछन् । अहिले धमाधम गहुँबाली काट्ने र थ्रेसर गरि भित्र्याउने काम भइरहेको छ । बीउ छरेदेखि स्याहर्ने बेलासम्म सामान्य हावाहुरी र वर्षाले क्षति पुर्याए पनि समग्रमा यो वर्ष अनुकूल मौसम भएकोले गहुँको उत्पादन बढेको उनको भनाइ छ ।
गहुँको उत्पादन वृद्धि भए पनि खेती गर्ने क्षेत्रफल भने बर्सेनि घट्दै गएको छ । आर्थिक वर्ष २०८०–०८१ मा जिल्लाका विभिन्न स्थानमा २१ हजार ५१५ हेक्टर क्षेत्रफल जग्गामा गहुँखेती गरिएको थियो । तर, गत वर्ष भने २० हजार ८९५ हेक्टर जमिनमा मात्र गहुँ खेती गरिएको थियो । यो वर्ष क्षेत्रफल अझै घटेको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी पाठकले जानकारी दिए ।
किसानहरूले गहुँखेती गर्ने जग्गामा तोरीखेती, वसन्ते मकै र विभिन्न तरकारीजन्य खेती गर्दा गहुँखेती गर्ने क्षेत्रफल घट्दै गएको छ । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिका क्षेत्रमा बढ्दो सहरीकरण, बैजनाथ र राप्तीसोनारी गाउँपालिका वन्यजन्तुको आक्रमणले गर्दा गहुँखेती गर्ने क्षेत्रफल बर्सेनि घट्दै गएको उनले बताए ।
यकातिर गहुँबालीका लागि आवश्यक पर्ने मलखाद्य तथा पर्याप्त सिँचाइको व्यवस्था नहुँदा समेत गहुँ खेती गर्नेहरुको संख्या घटेको छ । जमिनको गुणस्तर अनुसार कम्तीमा दुई पटक नभए तीन पटक गहुँलाई अनिवार्य पानि सिचाँइ गर्नुपर्ने हुन्छ । यसले गहुँको बृद्धिविकास र दाना लाग्न मद्त गर्छ । तर, अधिकांस जसो क्षेत्रमा सिँचाइ प्रयाप्त नहुँदा गहुँखेतीतर्फ किसान क्रमश आकर्षित हुने क्रम घट्दो छ ।
सत्यपाटी