बाँके जिल्लामा अझै ८०० बालबालिका पूर्ण खोपको पहुँचबाट बाहिर रहेको तथ्य सार्वजनिक भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार गत आर्थिक वर्षको तुलनामा खोपको मात्रा पूरा नगर्ने बालबालिकाको सङ्ख्या घट्दै गए पनि अझै उल्लेख्य सङ्ख्यामा बालबालिका नियमित खोप सेवाबाट वञ्चित रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीका अनुसार पूर्ण खोप नपाएका बालबालिकामध्ये सबैभन्दा बढी मुस्लिम समुदायका ३५४ जना रहेका छन् ।
त्यसपछि मधेसी समुदायका १८९, दलित समुदायका १२८, जनजाति समुदायका ५७ तथा बाँकी अन्य समुदायका बालबालिका रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउन वैशाख महिनाभर विशेष खोजपड्ताल अभियान सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । विशेषगरी १६ महिनादेखि ५९ महिनासम्म उमेर समूहका बालबालिकालाई लक्षित गर्दै घरघरमा खोजी गरी नियमित खोप सेवा उपलब्ध गराइने जनाइएको छ । नेपाल सरकारले प्रत्येक वर्ष वैशाख महिनालाई ‘खोप महिना’ तथा सचेतना प्रवद्र्धन महिनाका रूपमा मनाउँदै आएको छ ।
स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले वैशाखको दोस्रो सातालाई ‘खोप सप्ताह’का रूपमा विशेष अभियानसहित मनाइने बताइन् । उनका अनुसार राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत १५ महिनाभन्दा कम उमेरका बालबालिकालाई १३ प्रकारका विभिन्न खोप, गर्भवती महिलालाई आवश्यक खोप तथा किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप नियमित रूपमा प्रदान गरिँदै आएको छ ।स्वास्थ्यकर्मीहरूका अनुसार नियमित खोप सेवाको पहुँच बढ्दै जाँदा जिल्लामा बाल मृत्युदर घट्दो क्रममा रहेको छ । तर अझै केही समुदायमा सचेतनाको कमी, पहुँचको समस्या तथा नियमित अनुगमन अभावका कारण केही बालबालिका खोप सेवाबाट छुट्ने गरेका छन् ।
सत्यपाटी