सवारी दुर्घटनामा ज्यान गुमाएका ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको अन्त्येष्टि गरिएको छ । तार्केश्वर नगरपालिकामा ट्रकको टक्करबाट मृत्यु भएका इन्स्पेक्टर लामाको दाहसंस्कारमा गृहमन्त्री सुधन गुरुङ सहभागी भएका छन् ।
लामाको दाहसंस्कारमा सहभागी हुन स्वयम्भू पुगेका गृहमन्त्री गुरुङले उनको शव आफैँले बोकेर सम्मान प्रकट गरेका हुन् । इन्स्पेक्टरको अन्त्येष्टि कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसहित प्रहरीका उच्च अधिकारीहरूको उपस्थिति थियो ।
रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ स्थायी घर भएका ३३ वर्षीय लामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत थिए । गत चैत २९ गते ट्रकको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए ।
चैत २९ मा तार्केश्वर नगरपालिका–८ स्थित डाँडागाउँमा लामाले चलाएको मोटरसाइकललाई बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत लामा ड्यूटी सकेर घर फर्किनेक्रममा ट्रकले ठक्कर दिएको थियो ।
दुर्घटनापछि उपचारका लागि ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पताल भर्ना गरिएका उनको बिहीबार उपचारकै क्रममा मृत्यु भएको थियो । जापानमा रहेकी उनकी पत्नी र परिवारका सदस्य आउन ढिला भएपछि आज उनको दाहसंस्कार गरिएको हो ।
सत्यपाटी