२०८३ वैशाख ४ , शुक्रबार 17, April 2026, Friday

दुर्गमका सुत्केरीको सेवामा सरिता

सत्यपाटीसत्यपाटी । मुगु । २०८३ वैशाख ४ गते शुक्रबार

मुगुको पश्चिमी भेगमा पर्ने सोरू गाउँपालिका–४ की स्वास्थ्यकर्मी सरिताकुमारी शाही गरिब तथा विपन्न वर्गका सुत्केरीको सेवामा समर्पित हुँदै आएकी छन् । उनी टोलटोलमै पुगेर सुत्केरीको सेवा गरेको देखेर स्थानीयवासी पनि दङ्ग छन् ।

सोरू गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख चित्र धामीका अनुसार भौगोलिक विकटता र यातायातको पहुँच नभएको दुर्गम बस्तीका सुत्केरीलाई सेवा दिन त्यति सहज नभए पनि शाही जोखिमपूर्ण अवस्थामा रहेका गर्भवती महिलाको ज्यान बचाउन दिनरात खटिएकी छन् ।

मुगुको विकट सोरू गाउँपालिकाको सिपगाउँको बर्थिङ सेन्टरमा कार्यरत अनमी सरिताले सुत्केरी आमा र बच्चाको ज्यान बचाउन रातदिन सेवामा खटिरहेको काम अनुकरणीय रहेको स्वास्थ्य शाखाका प्रमुख धामी बताउँछन् ।

उनी विगतको छ वर्षदेखि सोरू गाउँपालिकाको सिपगाउँको बर्थिङ सेन्टरमा गर्भवती तथा सुत्केरी आमा र शिशुको स्याहारमा निरन्तर संलग्न छिन् । हिमाली जिल्ला र दुर्गम क्षेत्रमा भरपर्दो प्रसूति सेवाको अभावले अकालमा ज्यान गुमाउन बाध्य भएका सुत्केरी महिलालाई सरिताको सेवाले ज्यान सुरक्षित बनेको सोरू गाउँपालिका–९ की स्थानीय गहँुकलानाथ योगीले बताए ।

उनका अनुसार सीमित स्रोतसाधन र जनशक्ति अभावका बाबजुद शाहीले यहाँका गर्भवतीलाई सुरक्षित प्रसूति सेवा दिएकी छन् । सोरू गाउँपालिका–८, सिपगाउँका वडा सदस्य गोविन्दा विष्ट भन्छिन्, ‘पहिले यहाँका गर्भवतीले सुत्केरी हुँदा अकालमै ज्यान गुमाउँथे तर अहिले सरिता मेडमको सेवाले धेरै आमा र बच्चाको ज्यान बच्ने गरेको छ ।’

अनमी सरिताले पनि आफूसँग भएको सिपले गर्भवतीलाई सुत्केरी गराउन सहयोग गर्दै आएको बताइन् । उनले सुत्केरीको उपचारका लागि परामर्शसमेत दिने गरेको बताए । उनले कहिलेकाहीँ सुत्केरीको उपचारका लागि रातिको समयमा गाउँका बस्तीमा उपचार गर्न जाँदा समयमै पुग्न कठिनाइ भएको पनि बताइन् ।

उनले अहिले बर्थिङ सेन्टरबाट नियमित उपचार लिने गर्भवतीको सङ्ख्या पनि बढ्दै गएको जानकारी दिइन् । स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षमा ४६९ जना महिलाले सुरक्षित प्रसूति सेवा लिएका छन् । त्यसैगरी एक हजार २०० जना गर्भवतीको स्वास्थ्य चेकजाँच र परामर्श दिएको शाहीले बताइन् ।

प्रकाशित मिति : २०८३ वैशाख ४ गते शुक्रबार