दुबईबाट काठमाडौं आउँदै गरेको फ्लाई दुबईको विमान भारतको लखनऊमा आपतकालीन अवतरण गराइएको छ । शनिबार बिहान ८ बजेर २२ मिनेटमा विमान संख्या एफजेड–११३३ नम्बरको उक्त विमानलाई लखनऊस्थित चौधरी चरणसिंह अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गराइएको प्रेस ट्रस्ट अफ इण्डियाले जनाएको छ ।
विमानमा इन्धन कम भएको जनाइएको छ । विमानमा १५४ जना यात्रु सवार रहेका थिए। अवतरणपछि सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ । विमानलाई अहिलेसम्म विमानस्थलमै राखिएको छ भने यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै निगरानी बढाइएको छ । विमानमा इन्धनको मात्रा न्यून भएपछि आपतकालीन अवतरणको निर्णय लिनुपरेको जनाइएको छ ।
सुरक्षालाई प्राथमिकतामा राख्दै विमानलाई लखनऊतर्फ मोडिएको थियो । यसअघि पनि बागडोगराबाट दिल्ली जाँदै गरेको एयर इन्डिया एक्सप्रेसको उडानमा प्राविधिक समस्या देखिएपछि लखनऊमै आपतकालीन अवतरण गराइएको थियो। उक्त उडानमा १४८ यात्रु र चालक दलका ६ सदस्य सवार थिए ।
सत्यपाटी