बाँके जिल्लामा सिँचाइका लागि जडान गरिएका डिप बोरिङमध्ये हाल ४१ वटा सञ्चालनमा रहेको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बाँकेले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी मधु न्यौपानेका अनुसार सञ्चालनमा रहेका ४१ वटा डिप बोरिङबाट जिल्लामा एक हजार २७१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ ।
उनले एउटा बोरिङबाट औसत ३० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने बताए । बाँकेमा ४२ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा सिँचाइ गर्ने लक्ष्यसहित राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजना निर्माण तथा सञ्चालन भइरहेको छ ।
सो आयोजनाले नछोएका क्षेत्रमा मात्रै डिप बोरिङ जडान गर्ने गरिएको कार्यालयले जनाएको छ । अहिले विभिन्न पालिकाका कृषि शाखा तथा सङ्घीय सरकारले पनि सिँचाइ सुविधा नपुगेका स्थानमा डिप बोरिङ जडान गरिरहेका छन् । यसले किसानलाई वर्षभरि खेती गर्न सहज भएको कार्यालयको भनाइ छ ।
सत्यपाटी