२०८२ चैत २७ , शुक्रबार 10, April 2026, Friday

तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्य समझदारी

सत्यपाटीसत्यपाटी । कञ्चनपुर । २०८२ चैत २६ गते बिहीबार

त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबीच प्राज्ञिक सहकार्यका लागि त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयमा बुधबार आयोजित कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.देवराज अधिकारीको उपस्थितिमा तीनै विश्वविद्यालयका उपकुलपतिहरूले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारीपत्रमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.हेमराज पन्त, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. दीपक अर्याल र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. ध्रुवकुमार गौतमले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार विश्वविद्यालयहरूबीच अध्ययन–अनुसन्धान, शैक्षिक स्रोत, प्रविधि तथा अनुभव आदानप्रदानलाई संस्थागत गरिनेछ । विशेषगरी डिजिटल प्लेटफर्ममार्फत संयुक्त कक्षा सञ्चालन, अनुसन्धान सहकार्य तथा प्राध्यापकहरूको साझा उपयोगजस्ता कार्यक्रम अघि बढाइने जनाइएको छ ।

विश्वविद्यालयका अधिकारीहरूले यो सहकार्यले उच्च शिक्षाको गुणस्तर वृद्धि, स्रोतको प्रभावकारी उपयोग र आधुनिक प्रविधिमा आधारित शिक्षण प्रणाली विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८२ चैत २६ गते बिहीबार