२०८२ चैत २७ , शुक्रबार 10, April 2026, Friday

सिक्टा सिँचाइ आयोजना अन्तरगत डुडुवा नहरको निर्माण तीव्र

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ चैत २५ गते बुधबार

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना अन्तरगत डुडुवा शाखा नहरको निर्माण कार्य हाल आएर तीव्र गतिमा अघि बढाइएको छ । विभिन्न प्राविधिक र कानुनी समस्याले लामो समयसम्म रोकिएको सो नहर निर्माण पुनः सुरु भएपछि स्थानीय किसान उत्साहित बनेका छन् ।

हालसम्म नहर निर्माणमा बाधा बनेका विद्युत पोल, भूमिगत केबल र खानेपानीका पाइपको व्यवस्थापन गर्दै नहर निर्माणको कामलाई तिव्र गतिले अघि बढाइएको सिक्टा सिँचाइ आयोजनाका इन्जिनियर विकास विष्टले जानकारी दिए ।

उनका अनुसार २३.४ किलोमिटर लामो सो डुडुवा नहरबाट करिब १६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ । उक्त नहर अन्तरगत खजुरा र मानपुर दुई मुख्य शाखा रहनेछन् । विगतमा ठेक्का विवादका कारण लामो समयसम्म नहर निर्माणको काम रोकिएको थियो भने पुरानो ठेक्का रद्द गरेर नयाँ कम्पनीमार्फत ठेक्का दिई निर्माणलाई तीव्र पारिएको इन्जिनियर विष्टले बताए ।

उनका अनुसार नेपालगन्ज–सुर्खेत सडक खण्ड अन्तरगत पिप्रहवादेखि राँझासम्म करिब पाँच किलोमिटर क्षेत्रमा टनेलमार्फत नहर निर्माण गरिनेछ भने बाँकी भाग खुला संरचनामा बन्नेछ । रामेछाप शेर्पा कन्स्ट्रक्सन प्रालिले करिब एक अर्ब १२ करोड रुपैयाँको लागतमा सो नहर निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गर्ने जिम्मा पाएको छ ।

कम्पनीका अनुसार हालसम्म २६ प्रतिशत भौतिक प्रगति भएको छ र असार मसान्तसम्म ४० प्रतिशत प्रगति पुर्याउने लक्ष्य राखिएको छ । उता, सिक्टा सिँचाइ आयोजनाका प्रमुख राजु आचार्यले विभिन्न निकायसँगको सहमतिमा नहर निर्माणको अवरोध हटाउँदै निर्माणलाई निरन्तरता दिइएको बताए ।

उनले नहर सम्पन्न भएपछि डुडुवा, खजुरा, नेपालगन्ज र जानकी क्षेत्रका किसानले वर्षैभरि सिँचाइ सुविधा पाउने अपेक्षा गरिएको बताए । यसले कृषि उत्पादन बढाउन मद्दत पुग्ने विश्वास गरिएको पनि आयोजना प्रमुख आचार्यले बताए ।

प्रकाशित मिति : २०८२ चैत २५ गते बुधबार