बाँकेको खजुरा क्षेत्रमा पछिल्लो समय खेलकुदका गतिविधिहरू तीव्ररूपमा बढ्दै गएका छन् । ग्रामीण क्षेत्रमा निरन्तर आयोजना हुने प्रतियोगिताले नयाँ खेलाडी उत्पादनका साथै दर्शकको आकर्षण पनि बढाइरहेको छ ।
खजुरा गाउँपालिका–४, ई–गाउँमा जारी अर्जुन रोका स्मृति क्रिकेट प्रतियोगिता हेर्न मध्यरातिसम्म दर्शकको उपस्थिति रहने गरेको छ । प्रतियोगिता अर्जुन रोका स्मृति प्रतिष्ठान र न्यू दर्पण युवा स्पोर्टस क्लबको आयोजनामा भइरहेको छ र जिल्लाका १७ युवा क्लबको सहभागिता रहेको छ ।
त्यस्तै, योगिनी युवा क्लबको आयोजनामा दोस्रो योगिनी गोल्डकप फुटबल प्रतियोगिता खजुरा–२ सितापुरमा चलिरहेको छ, जसमा बाँके र बर्दियाका १३ टिमको सहभागिता छ । केही दिनअघि खजुरा–४, डिगाउँमा फाइभ–ए–साइड रात्रिकालिन फुटबल प्रतियोगिता र खजुरा–५, उढरापुरमा रात्रिकालिन क्रिकेट प्रतियोगिता सम्पन्न भएका थिए ।
खजुरा–४, डि गाउँस्थित मिनी रङ्गशालामा चैत ३० गतेदेखि खजुरा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । यस प्रतियोगितालाई न्यू डाँफे स्पोर्टस क्लब खजुराले आयोजना गर्दैछ । क्लबका अध्यक्ष बालाराम खत्रीले खजुरा क्षेत्र खेलकुदको क्षेत्रमा सधैं अग्रणी रहेको र पछिल्लो समय गतिविधि थप बढेको बताएका छन् ।
उनले भने, ‘स्थानीय सरकार र आम स्थानीयवासी खेलकुदलाई बढावा दिन सक्रिय छन् ।’ गोल्ड कप प्रतियोगिताका लागि गाउँपालिकाले १६ लाख रुपैयाँ र स्थानीय दाता लिलबहादुर थापाले सात लाख रुपैयाँ सहयोग गरेका छन् ।
सत्यपाटी