२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

सरकारी कार्यालयमा विहान सेवाग्राहीको संख्या न्यून

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ चैत २४ गते मंगलबार

सरकारको निर्णय अनुसार सोमबारदेखि लागू हुने गरी बाँके जिल्लाका अधिकांश सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन हुन थालेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार, विभिन्न सरकारी कार्यालयमा बिहान ८ः४५ बजेसम्म अधिकांश कर्मचारी कार्यालय पुगेका र कार्यालयहरु खुलिरहेको देखिएको छ ।

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले भने, ‘जिल्लाका अधिकांश सरकारी कार्यालय समयमै खुलेका छन् र कर्मचारी पनि निर्धारित समयमा उपस्थित भएका छन् । तर सेवाग्राहीको संख्या बिहान अपेक्षाकृत कम छ । पहिलो दिन सोमबार बिहान ९ बजे कम सेवाग्राही पुगे पनि मङ्गलबार यस संख्या बढेको छ ।’

उनले थपे, ‘सरकारी कार्यालयको अनुगमन निरन्तर जारी रहनेछ । समयमा नखुल्ने वा समयमा कार्यालयमा नपुग्ने कर्मचारीलाई कारबाही गरिनेछ । कर्मचारीहरुलाई सेवाग्राहीलाई समस्या वा गुनासो नहुने गरी काम गर्न निर्देशन दिइएको छ ।’

भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख सविनसिंह चौधरीले पनि पहिलो दिन सबै कर्मचारी समयमै कार्यालयमा पुगे पनि विहान ९ बजे धेरै सेवाग्राही नआएको र मङ्गलकारदेखि संख्या बढेको बताएका छन् । स्थानीय तहका कार्यालयहरु पनि विहान ९ बजेदेखि खुलेका र अधिकांश कर्मचारी कार्यालयमा उपस्थित देखिएका छन् ।

प्रकाशित मिति : २०८२ चैत २४ गते मंगलबार