हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशभरिको मौसममा बदली आएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो पनि देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने र अन्य क्षेत्रमा आंशिक बदली रहने जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो पहाडी र हिमाली भेगका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीबताससहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका थोरै स्थानका साथै अन्य तराईका एक–दुई ठाउँमा पनि हल्का वर्षा र हिमपातको आकलन गरिएको छ । विशेषगरी मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा तीव्र गतिको हुरीबतास चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति भने तराईको मौसम मुख्यतया सफा रहनेछ तर हिमाली र पहाडी भूभागमा आंशिकदेखि साधारण बदली कायमै रहनेछ । कोशी, गण्डकी र कर्णालीका हिमाली क्षेत्रका थोरै स्थान तथा बागमती, लुम्बिनी र सुदूरपश्चिमका हिमाली र कोशी–गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपात हुन सक्नेछ । रातिको समयमा पनि मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा हुरीबतासको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सत्यपाटी