२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

सशस्त्र प्रहरीमा को बन्ला नयाँ आइजीपी ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ चैत २० गते शुक्रबार

सशस्त्र प्रहरी बल, नेपालमा अबको एक महिनापछि नयाँ आइजीपी (सशस्त्र प्रहरी महानिरीक्षक) नियुक्ति हुँदैछ । हालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल १८ वैशाखमा अनिवार्य अवकाशमा जाँदैछन् । सशस्त्र प्रहरी नियमावलीअनुसार उनी आइजीपीको चार वर्षे कार्यकाल पूरा गरेर १८ वैशाखमा अनिवार्य अवकाशमा जान लागेका हुन् ।

उनी २०७९ वैशाखमा सशस्त्र प्रहरीको सर्वोच्च पद आइजीपीमा बढुवा भएका थिए । २०५४ सालमा नेपाल प्रहरीका इन्स्पेक्टरमा भर्ना भएका अर्याल सशस्त्र प्रहरी गठन भएपछि स्थानान्तरण भएर सशस्त्रमा आएका थिए । सशस्त्र प्रहरी नियमावली अनुसार ३० वर्षे सेवा अवधि रहे पनि उनी आइजीपीको चार वर्षे कार्यकालका कारण दुई वर्षअघि अर्थात २८ वर्षे सेवा अवधिमै अवकाशमा जाने भएका हुन् ।

उनी अवकाशमा जाने भएसँगै अबको आइजीपी को बन्छ ? भन्ने चासो छ । सशस्त्रमा प्रायजसो वरियताको पहिलो नम्बरमा रहेका अधिकृतहरू नै आइजीपी बन्दै आएका छन् । जसअनुसार अबको आइजीपीको मुख्य दाबेदार हुन्, एआइजी नारायणदत्त पौडेल । हाल सशस्त्र प्रहरीको मानव स्रोत विकास विभागका प्रमुखको रुपमा रहेका एआइजी पौडेले सिनियर र वरियताको हिसाबले अघि छन् ।

सशस्त्र प्रहरीमा बलमा तीन जना एआइजीको दरबन्दी छ । जसमध्ये पौडेल सबैभन्दा सिनियर हुन् । उनी बाहेक वंशी दाहाल र गणेश ठाडा मगर पनि एआइजी छन् । दाहाल सीमा सुरक्षा विभागमा छन् । ठाडा मगर भने कार्य विभागमा छन् । सशस्त्र प्रहरी नियमावली अनुसार एआइजी र एआईजी नभएको अवस्थामा डीआइजी मध्येबाट सरकारले एक जनालाई आईजीपी बनाउन सक्ने उल्लेख छ ।

जसअनुसार जुनियर भए पनि दाहाल र ठाडा मगरलाई पनि प्रतिस्पर्धी बन्न भने नियमावलीले रोकेको छैन । आइजीपी दाबेदारको मुख्य दाबेदार रहेका पौडेल ६ जेठ २०७९ मा एआइजीमा बढुवा भएका थिए । राजु अर्याल आईजीपी बनेपछि एआइजीको रिक्त पदमा पौडेललाई बढुवा गरिएको थियो । आइजीपीको दोस्रो दाबेदारका रुपमा रहेका दाहाल भने पौडेल भन्दा करिब पाँच महिनापछि मात्रै एआइजीपीमा बढुवा भएका थिए ।

दाहाललाई सरकारले २८ असोज २०७९ मा एआइजीमा बढुवा गरेको थियो । दाहाललाई एआइजीपी बनाउन त्यतिबेला सरकारले सीमा सुरक्षा विभागमा एक एआइजीको दरबन्दी समेत सिर्जना गरेको थियो । प्रतिस्पर्धाको तेस्रो नम्बरमा रहेका ठाडा मगर भने उनीहरूभन्दा करिब दुई वर्ष जुनियर हुन् । उनी २ असार २०८२ मा मात्रै एआइजीपीमा बढुवा भएका थिए । भर्ना प्रक्रियामा पनि ठाडा मगर दुई वर्ष नै जुनियर हुन् ।

उनी २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । उनीहरूभन्दा दुई वर्ष जुनियर भएकाले ठाडा मगरको अहिले नै एआइजीपी बन्ने सम्भावना कम छ । पौडेल र दाहाल जो आइजीपी भए पनि ठाडा मगरको आइजीपी हुने सम्भावना भने कायमै रहन्छ । मुख्य दाबेदार रहेका पौडेल र दाहाल जो आइजीपी भए पनि उनीहरू १८ चैत २०८४ मा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जान्छन् ।

जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले अघिल्ला सरकारहरूको जस्तो बेथिति नहुने बताउँदै आएको छ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पनि सशस्त्र प्रहरी मुख्यालयको निरीक्षण गर्दै आफ्नो व्यक्तिगत फाइदा र सरुवा बढुवाका लागि म कहाँ नआउन भन्दै निर्देशन दिएका थिए । सबै प्रक्रिया अनुसार, नियम कानून अनुसार नै हुने र कुनै समस्या परे मात्रै आफूलाई भन्न गुरुङले निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २०८२ चैत २० गते शुक्रबार