उदयपुरको चौदण्डीगढी नगरपालिका–८ स्थित जयकला आधारभूत विद्यालयमा अहिले एक प्रेरणादायी कथा लेखिँदैछ । यो कथा हो ६१ वर्षीया रूपा राईको, जसले उमेरको सीमालाई चुनौती दिँदै शिक्षा हासिल गर्ने आफ्नो अधुरो सपना साकार पार्दैछिन् ।
बाल्यकालमा विद्यालय जान नपाएको पीडाले लामो समयसम्म उनलाई पछ्याइरह्यो । अक्षर चिन्न नसक्दा भोग्नुपरेको असहजता र आत्मग्लानीले अन्ततः उहाँलाई नयाँ निर्णय लिन प्रेरित गर्यो । पाँच वर्षअघि साहस जुटाएर उनी कक्षा १ मा भर्ना भइन्, त्यो केवल विद्यालय प्रवेश नभई जीवन बदल्ने ऐतिहासिक कदम थियो ।
अहिले रूपा राई कक्षा ४ मा अध्ययनरत छिन् र वार्षिक परीक्षा दिइरहेकी छन् । आगामी वर्ष कक्षा ५ मा उक्लिने लक्ष्यसहित उनी उत्साहित देखिन्छिन् । उनको दैनिक जीवन पनि उत्तिकै प्रेरणादायी छ । बिहान सबेरै उठेर घरधन्दा सकेपछि समयमै विद्यालय पुग्नु, सातै घण्टी कक्षामा बसेर ध्यानपूर्वक पढ्नु उनको दिनचर्या बनेको छ ।

‘घरको काम सकिन्छ, तर पढाइ छुटाउनु हुँदैन,’ उनी दृढताका साथ भन्छिन् । कक्षामा उनका सहपाठीहरू अधिकांश नातिनातिना उमेरका छन् । सुरुमा केही असहजता भए पनि अहिले सबैले माया र सम्मानका साथ ‘बजु’ भनेर सम्बोधन गर्छन् । शिक्षकहरूले पनि उनको लगनशीलता र अनुशासनको खुलेर प्रशंसा गर्दै आएका छन् ।
विद्यालयका प्रधानाध्यापक गंगा मगरका अनुसार रूपा राई अनुकरणीय विद्यार्थीमध्ये एक हुन् । उनको नियमित उपस्थिति, मेहनत र सिक्ने उत्साहले अन्य विद्यार्थीलाई समेत प्रेरित गरिरहेको छ । रूपा राईको यात्रा केवल व्यक्तिगत सफलता मात्र होइन, समाजका हजारौं अशिक्षित व्यक्तिहरूका लागि प्रेरणाको स्रोत बनेको छ ।
उनीबाट प्रभावित भएर गाउँघरका धेरै महिला तथा ज्येष्ठ नागरिकहरू पनि शिक्षा सुरु गर्ने सोचमा छन् । उमेर ढल्किँदै जाँदा धेरैले विश्राम रोज्ने बेला, रूपा राई भने अक्षर चिन्ने र आत्मनिर्भर बन्ने यात्रामा निरन्तर अघि बढिरहेका छन् । ‘ढिलो भए पनि पढ्न थालेँ, अब सकेसम्म पढिरहन्छु,’ उनको यो अठोटले उनको आत्मबल प्रष्ट देखाउँछ ।
सत्यपाटी