सुर्खेतको वीरेन्द्रनगरस्थित दुई कार्यालयबाट ‘बिचौलिया’को काम गर्ने १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालय सुर्खेत र मालपोत कार्यालयबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार, यातायात व्यवस्था कार्यालयबाट १० जना महिला र मालपोत कार्यालयबाट छ जना पुरुषलाई नियन्त्रणमा लिइएको हो ।
उनीहरूले सेवाग्राहीलाई सवारी दर्ता किताब (ब्ल्यूबुक) नवीकरण गरिदिने, जग्गा नामसारी तथा अन्य भूमिसम्बन्धी सेवा सहज रूपमा मिलाइदिने भन्दै रकम असुल्ने गरेको आरोप छ ।
सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्याउँदै अवैध रूपमा ‘बिचौलिया’को काम भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
सत्यपाटी