आज बिहीबारदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसइई) मा बाँकेका दुई वटा बाल सुधार गृह र दुई वटा कारागारमा रहेका ४३ जना बालबन्दी तथा कैदीले पनि सहभागिता जनाएका छन् । जिल्लाको डुडुवा गाउँपालिकास्थित जयन्दु बालसुधार गृह र नौबस्ता बालसुधार गृहमा रहेका ३५ जना बालबन्दी तथा नेपालगन्ज कारागार र नौबस्ता कारागारका आठ जना कैदीले बिहीबारको परीक्षा दिएका छन् ।
शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख धनसुदन चौलागाईंका अनुसार, डुडुवाको जयन्दु बाल सुधार गृहबाट ३२ जना, नौ बस्ता बाल सुधार गृहबाट तीन जना र कारागारबाट चार–चार जना गरी आठ जना कैदी परीक्षामा सहभागी भएका थिए । उनले परीक्षा शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न भएको बताउँदै, परीक्षा सञ्चालनका लागि सुरक्षाको कडा व्यवस्था, अनुगमन र निरिक्षण निरन्तर गरिएको जानकारी दिए ।
बाँके जिल्लामा यस वर्ष ३६ वटा परीक्षा केन्द्रमार्फत कुल नौ हजार ६१५ जना परीक्षार्थी एसइईमा सहभागी भएका छन् । पछिल्ला तीन वर्षमा एसइई दिने विद्यार्थीको सङ्ख्या घटेको देखिएको छ । यसअघि २०७९ मा आठ हजार ८८६, २०८० मा नौ हजार २९३, र २०८१ मा दस ४१६ विद्यार्थीले जिल्लाबाट एसइई दिएका थिए ।
सत्यपाटी