लुम्बिनीमा वर्षौँदेखि थन्किएका विद्युतीय बस सञ्चालनमा आएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनपछि पर्यटकलाई सेवा दिने उद्देश्यले ल्याइएका विद्युतीय बस सञ्चालनमा आएको हो ।
दाताको सहयोगमा ६ वर्षअघि ल्याएका बस कानुनी उल्झनका कारण प्रयोगविहीन थिए । पर्यटकलाई प्रदूषणरहित यातायात सेवा दिने उद्देश्यले एसियाली विकास बैंकको सहयोगमा क्लिन इनर्जी परियोजना अन्तर्गत २०७७ मा पाँचवटा बस र १४ वटा विद्युतीय भ्यान ल्याइएको थियो ।
प्रयोगविहीन ती बसलाई काठमाडौं लैजाने तयारी पनि भइरहेको थियो । उक्त तयारीको स्थानीय स्तरमा विरोध भएको थियो । प्रधानमन्त्री कार्यालयको निर्देशनपछि लुम्बिनीमै सञ्चालनको व्यवस्था मिलाइएको लुम्बिनी विकास कोषका सदस्यसचिव दिपक श्रेष्ठले जानकारी दिए ।
लुम्बिनी विकास कोष अन्तर्गतका पाँच विद्युतीय बस मध्ये दुईवटा आजदेखि पर्यटक सेवामा सञ्चालनमा आएका छन् । सेवा सुरुसँगै लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई सहज, सुरक्षित र वातावरणमैत्री यातायात सुविधा उपलब्ध हुने विश्वास गरिएको छ ।
सत्यपाटी