नेपालगन्ज–१८ स्थित आदर्श मावि परिक्षा केन्द्रमा उत्तरसहितको प्रिन्टेड प्रश्नपत्र फेला परेको गम्भिर बिषयलाई ढाकछोप गरी मिलाउने आन्तरिक प्रपञ्च भइरहेको पाइएको छ । परिक्षाको प्रश्नपत्र आउट गर्ने जस्तो गम्भीर विषयमा दुई दिन वितिसक्दा समेत कारवाही प्रक्रिया अगाडी नबढ्दा यसले संसय पैदा गरेको छ भने उक्त बिषय थप पेचिलो बन्दै गएको छ ।
परिक्षा सञ्चालन भएको आधा घण्टामै मुनतारा इंलिस मिडियम स्कुलका विद्यार्थीहरुबाट उत्तरसहितको प्रिन्टेड प्रश्नपत्र फेला परेको थियो । परिक्षाको मर्म र नियम विपरितको कार्य भएको पाइएपछि तत्काल उक्त केन्द्रका केन्द्राध्यक्षले नगर शिक्षा शाखा प्रमुखलाई फोनमार्फत घट्नाको जानकारी गराएका थिए । घट्नाका बिषयमा जानकारी भएपछि शिक्षा, युवा तथा खेलकुद शाखाले सोही दिन परिक्षा समितिको बैठक डाकेका थिए ।
अत्यन्तै गम्भीर बिषयमा छलफल गर्न डाकिएको उक्त बैठकमा शाखाले समिति वाहेकका ब्यक्तिहरुलाई समेत सहभागि गराएर छलफल गरेपछि सो बिषय बिषयान्तर भएको श्रोत बताउँछ । परिक्षा समितिकै कुनै पदाधिकारीको संलग्नतामा प्रश्नपत्र बाहिरीएको हुन सक्ने भएकाले गम्भिर बिषयलाई समेत मिलाउन खोजिएको श्रोतको दाबि छ ।
बैठकले उक्त कार्यमा संलग्न ब्यक्तिलाई प्रशासनिक कारवाही गर्ने निर्णय गरेको भए पनि कसरी र कहिले गर्ने स्पष्ट नभएको श्रोत बताउँछ । यसअघि पनि नेपालगन्जस्थित केही विद्यालयहरुले यस्ता कार्यहरु गर्दै आएको भएपनि विभिन्न प्रलोभन र दवावका कारण ‘तै चुप मै चुप’को अवस्थामा सबै रहने र मिलेमतोमै मिलाउने गरेको श्रोत बताउँछ ।
परिक्षाको प्रश्नपत्र बाहिर ल्याउने कार्य फौजदारी अभियोग हुने भएकाले तत्काल उक्त कार्यमा संलग्न ब्यक्ति र संस्थालाई कार्वाही प्रक्रियामा ल्याउनुपर्ने जानकारहरु बताउँछन् । उक्त घट्नाका बिषयमा नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाले परिक्षा समितिको बैठकले त्यो दिनको परिक्षा रद्ध गरि चैत्र १८ गते गर्ने गरी सुचना जारी गरेको बताए ।
उक्त बिषयमा अनुसन्धान गर्ने बताएपनि कसरी र कसले अनुसन्धान गरिरहेको छ स्पष्ट गरेनन् । उत्तरसहितको प्रिन्टेड प्रश्नपत्र बाहिरिनु गम्भीर र चरम लापरवाही भएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए । घट्नाका बिषयमा जानकारी भए लगत्तै नगर प्रमुखसँग कुराकानी भएको र उपमहानगरपालिकामार्फत लिखित पत्र प्राप्त भएमा प्रशासनले कार्वाहीकालागि ढिलाई नगर्ने उनको भनाई थियो ।
यो समाचार तयार पार्दासम्म कुनै पनि कारवाहीको पत्र उपमहानगरपालिकाबाट प्रशासनलाई प्राप्त भएको छैन । घटनाका बिषयमा नेपालगन्ज उपमहानगरपालिका नगरप्रमुख प्रशान्त बिष्टलाई सम्पर्क गर्दा उनीसँग कुराकानी हुन सकेन । परिक्षाको समयमा हुने यस्ता कार्यले विद्यार्थी र अभिभावकको मानसपटलमा नकारात्मक असर पार्ने भन्दै शिक्षा क्षेत्रमा हुने गैरजिम्मेवार पूर्ण कार्यमा रोक लगाइ संलग्न ब्यक्तिलाई कारवाही गर्नुपर्ने माग उठ्न थालेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाभित्रका आठ वटा विद्यालयका कुल २६० जना बिद्यार्थी संलग्न रहेको उक्त केन्द्रमा मुनतारा स्कुलको बिद्यार्थीसँग उत्तर सहितको कम्प्युटराईज प्रिन्टेड प्रश्नपत्र फेला परेको थियो । नेपालगन्ज उपमहानगरपालिकाबाट आवश्यक कारवाहीका लागि प्रशासनलाई पत्र हालसम्म नजानु र घट्नाको छानविनका लागि निष्पक्ष समिति बनाएर कार्वाहीको प्रक्रिया अगाडी नबढाउनुले घट्ना ढाकछोपको संका बढेको बताइन्छ ।
सत्यपाटी