२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

गुराँस फुलेर रङ्गियो घोडेपानी, ओइरिए पर्यटक (तस्वीर कथासहित)

सत्यपाटीसत्यपाटी । म्याग्दी । २०८२ चैत १४ गते शनिबार
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी ढकमक्क फूलेको गुराँस ।

‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ । वसन्त ऋतुको आगमनसँगै पाखाभरी ढकमक्क लालीगुराँस फुलेर मनमोहक र आकर्षक बनेको घोडेपानी प्रकृतिप्रेमी पर्यटकहरुको रोजाइमा परेको छ ।

घोडेपानीका होटल व्यवसायी हेमन्त वुद्धुजा पुनले गुराँसको सौन्दर्यमा रमाउन आएका पाहुनाहरुले दुई दिनयता होटलहरु भरिभराउ भएका बताए । ‘चैतेदसैँ, रामनवमी र शनिबार गरी लगातार तीन दिनको बिदा मनाउनका लागि पोखरा, म्याग्दी र काठमाडौँ लगायतका ठाउँबाट आएका पाहुनाहरुले होटलहरु भरिएका छन्,’ उनले भने, ‘गुराँस फुलेर रंगिएको घोडेपानीको वनपाखा, सूर्योदय, हिमशृङ्खला अवलोकन गर्ने पाहुनाको रोजाइमा घोडेपानी परेको छ ।’

घोडेपानीका २७ वटा होटलमा एक दिनमा एक हजार जनाभन्दा बढी बास बस्न सक्छन् । समुन्द्री सतहदेखि दुई हजार ८०० मिटर उचाइमा रहेको घोडेपानीको जङ्गलमा ढकमक्क लालीगुराँस फुलेपछि मनमोहक बनेको छ । घोडेपानीको शिरमा रहेको पुनहिलमा चियापसल र प्रवेशशूल्क सङ्कलनको जिम्मा पाएका व्यवसायी सुदीप पुर्जाका अनुसार शुक्रबार मात्रै ४०० जना नेपाली र ५० जना विदेशी भ्रमणमा त्यहाँ पुगेका छन् ।

हप्तादिनअघि दैनिक २०० जनाको हाराहारीमा पाहुनाहरु आइरहेको उनले बताए । चैत–वैशाख गुराँस फुल्ने याम हो । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय गन्तव्यमा समेटिएको घोडेपानी भ्रमणमा आउने पर्यटकका लागि वसन्त ऋतुको प्रमुख आकर्षण गुराँस हो । पुनहिलमा सूर्योदय र हिमशृङ्खलाको दृश्य अवलोकन गर्न जाने बाटोमा गुराँसको जङ्गल छ । यहाँ रातो, सेतो, चिमाली, सिमालीलगायत जातका गुराँस पाइन्छ ।

पाखोमा फुलेका गुराँसको जङ्गलको पृष्ठभूमिमा धौलागिरी, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रे लगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्य अवलोकन गर्न सकिन्छ । विश्वमा ४२ प्रजातिको गुराँस पाइन्छ । त्यसमध्ये नेपालमा ३२ प्रजातिका छन् । लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरेको अध्ययन अनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइन्छन् ।

अन्नपूर्ण गाउँपालिकाका पुर्व अध्यक्ष समेत रहेका घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जङ्गल गण्डकी प्रदेशकै ठूलो भएको दाबी गरे । घोडेपानी बस्तीको सिरानबाट पश्चिमोत्तर आधा घण्टा गुराँसे जङ्गलभित्र पैदल हिँडेपछि कालीसारस्थित गुराँस पार्क पुगिन्छ । गुराँसले ढाकेको वनमा चराको आवाज सुनेर डुल्दा रमाइलो महसुस र तनावमुक्त बनेको बेनीका अमृत कार्कीले अनुभव सुनाए ।

स्वच्छ हावापानी र शान्त वातावरणले तन र मन चङ्गा बनाएको बताउँदै पोखराबाट घोडेपानी घुम्न गएकी दिया थापाले गुराँस, चराको चिरबिर आवाज र हिमालको दृश्यले लट्ठै बनाएको अनुभव सुनाइन् । पाहुनाहरु गुराँसको जंगललाई पृष्ठभूमिमा पारेर भिडियो तथा तस्वीर खिचाएर आनन्द लिन्छन् । घोडेपानीबाट ४५ मिनेट उकालो हिँडेपछि पुगिने समुन्द्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिल सूर्योदय र हिमालको दृश्यावलोकनका लागि प्रसिद्ध गन्तव्य हो ।

गुराँस पार्कबाट थप १५ मिनेट अगाडि बढेपछि गुराँसकै जङ्गलभित्र रहेको सुन्दर प्यारीबराह ताल पुगिन्छ । त्यहाँबाट फर्कंदा प्यारीबराहबाट भलखराचौर हुँदै ४० मिनेटमा घोडेपानी बस्तीको पुछारमा आइपुगिन्छ । घोडेपानीको सिरानबाट कालीसार गुराँस पार्क हुँदै प्यारीबराह ताल पुगेर भल्खराकोबाट तल्लो बाटो हुँदै घोडेपानी साइक्लिङ गर्न सकिन्छ । प्यारीबराहबाट घोडेपानीसम्मको घोडचढी (पोन्नी ट्रेल)मा जान सकिन्छ ।

घोडेपानीमा एक रात बास बसेको, बेलुकाको खाना, बिहानको खाजासहित रु ९५० देखि एक हजार ६०० को प्याकेज बनाइएको छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार, शिख, चित्रे हुदै २१ किलोमिटर दुरीका पुगिने घोडेपानीमा पोखरादेखि बस सञ्चालन हुन थालेको छ । कास्कीको नयाँपुलदेखि बिरेठाँटी–उल्लेरी हुदै घोडेपानी जोड्ने कच्चि सडक पनि गत कात्तिकदेखि सञ्चालनमा आएको छ ।

घान्द्रुक, उल्लेरी, शिख, मोहरेडाडा तर्फबाट घोडेपानी पुग्न सकिने पदमार्गहरु रहेका छन् । अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले पदमार्गको संरक्षण, पुननिर्माण, सडक स्तरोन्नति र सहायक गन्तब्यको पहिचान गरि पूर्वाधार निर्माणमा जोड दिइएको बताए । ‘सडकमार्ग भएर मुस्ताङ जाने–आउने पर्यटकहरुलाई घोडेपानी भित्र्याउन पोखरेबगरदेखि कास्कीको नयाँपुल जोड्ने वैकल्पिक सडक सञ्चालनमा आएका कारण स्वदेशी पर्यटकको आगमन बढेको छ,’ उनले भने ।

उनले घोडेपानीमा पर्यटकको बसाई लम्बाउन ‘गुराँस पार्क’, घोडामार्ग, साइकल मार्ग र सहायक गन्तव्यको पहिचान गरी पूर्वाधार निर्माणमा जोड दिएको बताए । पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक घोडेपानी पुग्न थालेका छन् । यसले यहाँको पर्यटन गतिविधि समेत बढाएको छ । होटलहरू भरिभराउ भएका छन् भने पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

अन्नपूर्ण गाउँपालिका–५, शिखका स्थानीय युवा सुरेन गुरुङले भने, ‘वसन्तकालिन याम सुरु भएसँगै वनजङ्गलमा लालीगुराँस फुलेका छन् । डाँडापाखा रङ्गिएका छन् र फुलेको लालीगुराँसले पर्यटकलाई स्वागत गरेको जस्तो देखिन्छ । मौसम खुलेपछि घोडेपानी अझ सुन्दर देखिने छ ।’ पुनहिलमा चिया पसल र प्रवेश शुल्क सङ्कलन गर्ने व्यवसायी सुदीप पुर्जा अनुसार दैनिक ३०० भन्दा बढी आन्तरिक पर्यटक पुनहिलको भ्रमणमा आउँछन् ।

पुनहिलबाट धौलागिरी, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रे लगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्य अवलोकन गर्न सकिन्छ । घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइन्छ । स्थानीयहरूले गुराँस संरक्षणका लागि सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिरहेका छन् । समुन्द्री सतहदेखि दुई हजार ८०० मिटर उचाइमा रहेको घोडेपानी क्षेत्र वसन्त ऋतुको आगमनसँगै रमणीय बनेको हो । घोडेपानी होटल व्यवस्थापन उपसमितिका उपाध्यक्ष जुली ठकुरी पुनका अनुसार दैनिक ३००–५०० पर्यटक यहाँ भ्रमणमा आउँछन् ।

प्रकाशित मिति : २०८२ चैत १४ गते शनिबार