२०८३ वैशाख १७ , बिहीबार 30, April 2026, Thursday

आज रामनवमी पर्व, भगवान् श्री रामचन्द्रको पूजा आराधना

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ चैत १३ गते शुक्रबार

चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज (चैत १३) श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो ।

कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो । भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मंगल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मिएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरेका थिए ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य प्रा.डा.देवमणि भट्टराई रामनवमी पर्व मनाउनुको महत्त्व रामजस्तै मर्यादित, अनुशासित र नियन्त्रित राज्य सञ्चालकको आशा गरेको बताउँछन् ।

‘जसलाई अहिले पनि रामराज्य भनिन्छ, रामको राज्यबाट जसरी सारा मानिस खुसी थिए, अहिलेका शासकले त्यस्तै बन्न सक्नुपर्छ, त्यसबेला जनता पनि अनुशासित, मर्यादित र नियन्त्रित थिए, यसैले रामलाई मर्यादा पुरुषोत्तम भनिन्छ, हामीले यसलाई अनुसरण गर्नसकेमात्र यो पर्व मनाउनुको अर्थ हुन्छ,’ उनले भने ।

रामनवमीको महत्त्वका विषयमा गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ । यस अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ ।

रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजापाठ एवं आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ । आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ बास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ ।

अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मिएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गरेको उल्लेख छ । आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएकाले उनको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८२ चैत १३ गते शुक्रबार