दक्षिण अमेरिकी राष्ट्र बोलिभिआमा ब्याङ्क नोट बोकेको एउटा मालवाहक विमान दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरूले बताएका छन् । उड्डयन अधिकारीहरूका अनुसार स्थानीय समय अनुसार शुक्रवार साँझ सान्ताक्रुस सहरबाट उडेर पश्चिमी सहरको एल अल्टो विमानस्थलमा अवतरण गर्ने क्रममा बोलिभिअन एअर फोर्सको विमान दुर्घटना भएको थियो ।
विमान धावनमार्गबाट चिप्लिएर नजिकैको व्यस्त सडकमा पुगेको र कैयौँ सवारी साधनहरूसँग ठोक्किएको विवरण आएका छन् । बोलिभिआको रक्षा मन्त्रालयले आफ्नो सी–१३० कल साइन भएको हक्र्यूलस विमान दुर्घटनामा परेको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार उक्त विमानले देशको केन्द्रीय ब्याङ्कका लागि नोटहरू ओसारिरहेको थियो ।
मन्त्रालयले विमानमा कति व्यक्ति सवार थिए र कति जना हताहत भए भन्नेबारे केही उल्लेख नगरे पनि स्थानीय सञ्चार माध्यमहरूले विभिन्न स्रोतहरूलाई उल्लेख गर्दै १५ जना मारिएको जनाएका छन् । विमान दुर्घटना लगत्तै वरपर छरिएका ब्याङ्क नोटहरू टिप्न भीड जम्मा भएपछि मानिसहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गर्नु परेको थियो ।
भिडिओ दृश्यहरूमा अश्रुग्यास प्रहारबाट मानिसहरू भागिरहेको र प्रहरीले लखेटिरहेको देखिन्छ । सुरक्षा ढाल सहित प्रहरीले विमान दुर्घटना भएको क्षेत्रलाई घेरा हालिरहेको र केही व्यक्तिहरूले प्रहरीमाथि ढुङ्गा हानिरहेको भिडिओ सार्वजनिक भएका छन् । केही व्यक्तिहरू पक्राउ समेत परेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त विमान सडकमा बज्रिँदा सवारी साधनहरू क्षतिग्रस्त भएका अन्य भिडिओहरू पनि देखिएका छन् ।
‘यो दुखान्तमा गरेको विमानबाट जजसले पैसा लिने प्रयास गरिरहनु भएको छ उहाँहरूलाई म यो स्पष्ट पार्न चाहन्छु कि यो पैसाको कुनै वैधता हुँदैन, केन्द्रीय ब्याङ्कले यो पैसा जारी गर्न बाँकी नै थियो र यसमा सिरिअल नम्बर पनि छैन । त्यसैले यो पैसा प्रयोग गर्ने प्रयास गर्दा अपराध ठहर्छ,’ रक्षा मन्त्री मार्सेलो सालिनासले भनेका छन् ।
उनले तोडफोडमा संलग्न व्यक्तिहरूलाई कठिन समयमा देशले भोगिरहेको शोक र पीडा बुझेर त्यसो नगर्न अनुरोध गरेका छन् । केन्द्रीय ब्याङ्कले ती नोटहरू जारी नभएका कारण काम नलाग्ने भन्दै पैसा फिर्ता गरिदिन मानिसहरूलाई आह्वान गरेको छ । स्थानीय सञ्चार माध्यमले दुर्घटनास्थलमा खटिएका अग्नि नियन्त्रकहरूलाई उद्धृत गर्दै घटनामा कम्तीमा २० जना घाइते भएको बताएका छन् ।
विमान दुर्घटनापछि एल अल्टो अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । ‘मेरी दिदीले विमान दुर्घटना हुँदा आफू कारभित्र रहेको सुनाउनुभयो । विमानको पाङ्ग्रा उहाँको कारमा खस्दा त्यसको धक्काले उहाँको टाउकोमा चोट लागेपछि हामीले घाइते अवस्थामा अस्पताल दौडायौँ,’ एक जना घाइतेका आफन्तले समाचार संस्था रोएटर्ससँग भनेका छन् ।
दुर्घटनाको कारण अहिले नै स्पष्ट हुन सकेको छैन । प्रत्यक्षदर्शीहरूले दुर्घटना भएको समयमा मौसम प्रतिकूल रहेको बताएका छन् । ‘विमान दुर्घटना हुँदा असिना परिरहेको र बिजुली चम्किरहेको’ दुर्घटना क्षेत्रमा रहेकी एक महिलाले एएफपी समाचार संस्थालाई बताएकी छन् । विमानबाट उछिट्टिएको टुक्रा उनको कारसम्म पुगेको थियो । दुर्घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।
