२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

मुगुमा भाइरल प्रकोप : ४०० जना बिरामी, स्वास्थ्य चौकीमा १० पत्ता सिटामोल मात्रै !

सत्यपाटीसत्यपाटी । मुगु । २०८२ फागुन १५ गते शुक्रबार

मुगुको खत्याड गाउँपालिका–९, नर्खजी गाउँमा विगत एक सातादेखि फैलिएको भाइरल ज्वरोले ४०० भन्दा बढी बिरामी परेका छन् । फागुन ७ गतेदेखि सुरु भएको भाइरल प्रकोपले बालबालिका, महिला र वृद्धवृद्धाहरू सबैभन्दा बढी प्रभावित छन् ।

गाउँ नै बिरामीले थला परिरहेका बेला स्थानीय स्वास्थ्य चौकी भने ’रित्तो’ अवस्थामा छ । स्वास्थ्य चौकीका इन्चार्ज अमर बिकका अनुसार अहिले त्यहाँ १० पत्ता सिटामोल मात्र बाँकी छ र उनी एक्लैले बिरामीको दर्तादेखि परीक्षणसम्मको भार थामिरहेका छन् ।

उपचारका लागि रातापानीबाट गएका डाक्टर विकास धितालको टोली समेत आफैँ ज्वरोको सिकार भएपछि फर्कनुपर्ने अवस्था आएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गाउँमा उम्मेदवारहरू ‘स्वास्थ्य र शिक्षा’को आकर्षक नारा लिएर भोट माग्न त पुगिरहेका छन् ।

तर गाउँलेहरू औषधिको अभावमा छटपटाइरहँदा ठोस राहतका लागि कसैले पहल नगरेको स्थानीयको गुनासो छ । गाउँपालिकाले नेपालगन्जबाट औषधि ल्याउने तयारी गरिरहेको दाबी गरे पनि जिल्ला अस्पताल मुगुले भने ‘औपचारिक माग’ नाआएको जानकारी दिएको छ ।

एकातिर प्रकोप छिमेकी बस्तीहरूमा तीव्र गतिमा फैलिने जोखिम बढ्दो छ भने अर्कोतिर दीर्घरोगीहरूका लागि यो ज्वरोले थप जटिलता निम्तयाउने खतरा छ ।

प्रकाशित मिति : २०८२ फागुन १५ गते शुक्रबार