यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नं. १ मा चुनावी माहोल निकै तातिएको छ । १६ राजनीतिक दल र ९ स्वतन्त्र गरी कुल २५ जना उम्मेदवार मैदानमा उत्रिएपछि यसपटकको प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।
उम्मेदवारहरू मतदाता रिझाउन घरदैलोमा व्यस्त रहँदा मतदाताले भने विकास र सुशासनको ग्यारेन्टी खोजिरहेका छन् । चाँगुनारायण नगरपालिका–१ की १९ वर्षीया मोनिका रोक्का यसपालि पहिलो पटक मतदान गर्दैछिन् । उनी भन्छिन्, ‘दुःख–सुखमा साथ दिने र यहाँको विकासमा ध्यान दिनेलाई मात्र भोट दिने हो । चुनावमा मात्र मुख देखाउनेलाई यसपालि मतदान गरिँदैन ।’
भक्तपुरका केशव पराजुलीको पनि उस्तै गुनासो छ । काठमाडौँको नजिक भएर पनि सडक कालोपत्रे नहुनु, खानेपानीको अभाव र सम्पदा संरक्षणमा बेवास्ता हुनुले यहाँका नागरिक असन्तुष्ट देखिन्छन् ।
मैदानमा पुराना हस्ती र नयाँ चुनौती
यस क्षेत्रमा २०३८ सालदेखि २०७० सम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले लगातार चुनाव जितेका थिए । त्यसपछि २०७४ र २०७९ मा सोही पार्टीका प्रेम सुवाल निर्वाचित भए । सुवाल यसपटक चौथो पटक चुनावी मैदानमा छन् । उनी भक्तपुरको विकास र जनताको खुसी नै आफ्नो मुख्य एजेन्डा भएको बताउँछन् ।
यद्यपि, यसपटक एमालेका सोमप्रसाद मिश्र, कांग्रेसका किरण न्यौपाने र रास्वपाका रुकेश रञ्जितले सुवाललाई कडा चुनौती दिने दाबी गरेका छन् । एमाले उम्मेदवार मिश्रले भ्रष्टाचार नियन्त्रण र प्रशासनिक पुनःसंरचनालाई जोड दिएका छन् भने कांग्रेसका न्यौपानेले भूकम्पपीडितको पुनःनिर्माण र जग्गा रोक्काको समस्या समाधान गर्ने एजेन्डा अघि सारेका छन् ।
यस्तै रास्वपाका रञ्जितले सुशासन र भ्रष्टाचारमुक्त समाजलाई प्राथमिकता दिएका छन् । भक्तपुर नगरपालिकालाई नेमकिपाको ‘भोट बैंक’ मानिन्छ भने चाँगुनारायणमा मिश्रित जनमत छ । २०७९ को निर्वाचनमा सुवालले ४२ हजार ७६१ मत पाउँदा एमालेका नवराज गेलाल ११ हजार ९६८ मतमा सीमित भएका थिए । मतान्तर ठुलो भए पनि यसपटक नयाँ शक्ति र युवा मतदाताको चाहनाले परिणाममा प्रभाव पार्न सक्ने विश्लेषकहरू बताउँछन् ।
फागुन २१ गते हुने निर्वाचनका लागि देशभर एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम भएका छन् । निर्वाचनका लागि १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । सुरक्षाका लागि माघ २१ देखि नै सेना परिचालन भइसकेको छ । तीन हजार ६८० मतदानस्थललाई ’अतिसंवेदनशील’ सूचीमा राखेर सुरक्षा प्रबन्ध मिलाइएको छ ।
यस्तो छ निर्वाचन क्षेत्रको अंकगणित
कुल मतदाता : एक लाख ७ हजार ५४ (महिला ५४ हजार ९८८ र पुरुष ५२ हजार ६६)
मतदान केन्द्र : ११९ वटा
उम्मेदवार : १६ दलका र ९ स्वतन्त्र (कुल २५ जना)
मुख्य प्रतिस्पर्धी : प्रेम सुवाल (नेमकिपा), सोमप्रसाद मिश्र (एमाले), किरण न्यौपाने (कांग्रेस), रुकेश रञ्जित (रास्वपा), भरतबहादुर खड्का (राप्रपा), चन्द्रमान कोजु (माओवादी) ।
