२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

उत्पादन बढाउँदै सिंहदरवार वैद्यखाना

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ फागुन ५ गते मंगलबार

सिंहदरबार वैद्यखाना फेरि लयमा फर्कन थालेको छ । विसं २०७७ देखि औषधि उत्पादनमा कमी आएकामा वैद्यखाना फेरि लयमा फर्कन थालेको हो । तीन वर्षदेखि कच्चा पदार्थका लागि ठेक्का सम्झौता नहुँदा औषधि उत्पादन घटेकोमा हाल औषधि उत्पादन बढाइएको वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक प्रदीप केसीले जानकारी दिए ।

‘केही समय समस्या भएको थियो, हाल उत्पादन वृद्धिमा ध्यान दिएर लागेका छौँ । उत्पादन वृद्धिसँगै कारोबारमा बढाइरहेका छौँ,’ उनले भने, ‘हाल सरकारी औषधालयमा मात्र दुई करोड रुपैयाँ बराबरको औषधि माग आएको छ ।’ कुनै बेला आम्दानीभन्दा २३३ प्रतिशत बढी खर्च हुने वैद्यखाना साउनयता नाफामा गएको कार्यकारी निर्देशक केसीले जानकारी दिए ।

समयमा कच्चापदार्थको आपूर्ति नहुँदा औषधि उत्पादन ठप्प भइरहेकामा पछिल्लो समय आन्तरिक समस्या समाधान गरेर उत्पादन वृद्धि गर्न लागेको उनले बताए । विसं २०७७ मा १२ वटा मात्र औषधि उत्पादन गर्ने गरिएकामा हाल यहाँबाट ८६ प्रकारका औषधि उत्पादन भइरहेका छन् । तीमध्ये ३० वटा औषधि सरकारी औषधालयमा जाने गरेका छन् ।

‘हामीले कच्चापदार्थ आपूर्तिका लागि २०८० पुसमा ठेक्का सम्झौता भएको थियो, तर ठेकेदारले कच्चा पदार्थ नल्याएपछि कालोसूचीमा राख्यौँ । विसं २०८१ वैशाख नयाँ ठेक्का सम्झौता गरेर सोही वर्षको साउनयता औषधि उत्पादन भइरहेको छ,’ कार्यकारी निर्देशक केसीले भने । वैद्यखाना निरन्तर घाटामा गएपछि सात महिनासम्म कर्मचारीले तलबसमेत नपाउने अवस्था आएको थियो ।

हाल नियमित औषधि उत्पादन भएर नाफामा गएपछि कर्मचारीले नियमित तलब पाइरहेका छन् । माग धान्नै गाह्रो वैद्यखानाको औषधिलाई सबैले रुचाएका कारणले हाल माग बढिरहेको र हाल करिब रुपैयाँ चार करोड बराबरको औषधिको माग रहेको केसीले बताए । ‘देशभरिबाट नै औषधिको माग बढिरहेको छ, तर हामीले माग अनुसार उत्पादन गर्न सकेका छैनौँ । त्यसैले हाल सरकारीबाहेक अन्यलाई औषधि दिन सकिएको छैन,’ उनले भने ।

कार्यकारी निर्देशक केसीले यस वर्षको अन्त्यसम्म ५० प्रतिशत सरकारी औषधालयमा औषधि पुर्याउने लक्ष्यसहित काम भइरहेको जानकारी दिए । शिलाजित, च्यवनप्रास, निमिया (जोर्नी दुख्ने औषधि), चन्द्र प्रभावटी, महायोगराज, कान्चानार, त्रिफला लगायत औषधिको माग उच्च रहेको वैद्यखानाले जनाएको छ । हाल १५ वर्षदेखि रोकिएको स्वर्णभ्रष्म विन्दु फेरि उत्पादन सुरु गरिएको छ ।

प्रकाशित मिति : २०८२ फागुन ५ गते मंगलबार