२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

बाँकेमा अनुमति बिना जुलुस र आमसभा गर्न प्रतिबन्ध

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ फागुन ५ गते मंगलबार

जिल्ला प्रसाशन कार्यालय बाँकेले निर्वाचन केन्द्रित जुलुस र आमसभा गर्नुअघि अनुमति अनिवार्य लिनुपर्ने जानकारी गराएको छ । प्रतिनिधिसभा निर्वाचनलक्षित जुलुस, आमसभा वा भेला गर्नुअघि अनिवार्य रूपमा अनुमति लिन जिल्ला प्रशासन कार्यालय बाँकेले सबैलाई अनुरोध गरेको हो ।

निर्वाचनका लागि सोमबारदेखि जुलुस, आमसभा, कोणसभा तथा घरदैलो कार्यक्रम सञ्चालन गर्न पाइने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगद्वारा जारी निर्वाचन आचारसंहिताअनुसार चुनावी प्रचारप्रसारको क्रममा जुलस र आमसभा कार्यक्रम गर्नुअघि अनिवार्य अनुमति लिन जिल्लाका सबै उम्मेदवार र दलहरुलाई जानकारी गराईएको जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी एवम् आचारसहिंता अनुगमन अधिकृत पूर्णबहादुर खत्रीले बताए ।

उनले निर्वाचन केन्द्रित राजनीतिक दल, उम्मेदवार र भातृ संगठनहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गर्दै सार्वजनिक स्थलमा कुनै पनि प्रकारको जुलुस वा सभा आयोजना गर्नुभन्दा कम्तीमा २४ घण्टा अगावै मिति, समय, मार्ग र स्थान खुलाएर जानकारी गराइ अनिवार्य अनुमति लिनुपर्ने जानकारी गराइएको बताए । अनुमतिका लागि दल वा उम्मेदवारका अख्तियारप्राप्त प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दिन सक्ने जनाइएको छ ।

साथै कार्यालयको इमेल ठेगानामार्फत पनि निवेदन दर्ता गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसैबीच, फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोमबारदेखि औपचारिक रुपमा प्रचारप्रसार सुरु गरिएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचन सम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार, फागुन ४ देखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्ने छन् । निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी दल तथा उम्मेदवार एवम् अन्य सरोकारवाला सबैले सोमबारबाट चुनाव प्रचार–प्रसार गर्न सक्ने र औपचारिक रुपमा मतदातासमक्ष मत माग्न पाउने मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २०८२ फागुन ५ गते मंगलबार