कर्णालीपारिका मतदाताहरूले कर्णाली नदीमा रहेको फेरी फेरिदिन उम्मेदवारसँग माग गरेका छन् । उनीहरुले कर्णाली नदीमा रहेको फेरी फेरिदिने उम्मेदवारलाई भोट दिने बताएका छन् । स्वामिकार्तिकखापर गाउँपालिका कर्णाली नदीपारि रहेको छ । यहाँका स्थानीयवासीले यसै नदीमा राखेको फेरीका सहाराले अहिले दैनिक उपभोग्य सामग्री ढुवानी गर्दै आएका छन् ।
यसले हिउँद महिनामा सहज हुने गरेको भए पनि बर्खाको समय फेरी बन्द हुने गरेकाले यसलाई फेरिदिन यहाँका मतदाताले उम्मेदवारलाई माग राख्ने गरेका हुन् । स्वामीकार्तिका खापर गाउँपालिकाका स्थानीय वीरभान विकले भने, ‘कर्णाली नदीमा फेरी हालेको छ । त्यसले हिउँदमा गाडी वारपार गरेर यातायातको सुविधा दिनेगरेको छ । तर बर्खामा त्यो बन्द हुने गरेको छ ।’
यो फेरी बन्द गरेर यहाँ हिउँद बर्खामा गाडी सञ्चालन हुने गरेर उम्मेदवारलाई यो ठाउँमा फेरी हटाएर पक्की पुल निर्माणका लागि माग राख्ने गरेको हो । कर्णालीमा चलाएको फेरीले हिउँदका केही महिना यातायातको सुविधा दिने गरेको भए पनि बर्खाको समय भने पानीको बहाव बढी हुने गरेकाले त्यसले काम दिँदैन । त्यसपछि यहाँको सबै यातायात ठप्प हुन्छ ।
यो समस्यालाई फेरिदिनका लागि अहिले हामीले गाउँमा आउने गरेका उम्मेदवारलाई फेरी फेरिदिन माग राख्ने गरेको विकले बताए । गाउँपालिकाले यहाँका सबै वडामा ग्रामीण सडक पुर्याएको छ । केही गाउँबस्तीमा अहिले सडक खन्ने काम निरन्तरता भइरहेको छ तर कर्णाली नदीमा पक्की पुल नहुँदा यहाँका स्थानीयवासीलाई समस्या हुने गरेको छ । कर्णाली नदीमा पुल भए यहाँका प्रत्येक गाउँबस्तीमा बर्खाको समयमा पनि यातायातको केही सुविधा हुन्थ्यो ।
तर त्यहाँ पक्की पुल नहुँदा यहाँका स्थानीयले दैनिक उपभोग्य सामग्री पिठ्युँमा बोकेर घरसम्म लान बाध्य भएका छन् । स्वामीकार्तिकखापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले भने, ‘यहाँका अधिकांश वडामा सडक पुर्याएका छौँ । ती सडकमा अहिले गाडी गुड्ने गरेका छन् । हामीले कर्णाली नदीमा राखेको फेरीले ती वडामा गाडी गुड्ने गरेका हुन् । फेरीका कारण अहिले यहाँका स्थानीयको जीवनशैलीमा समेत परिवर्तन आएको छ ।’
सत्यपाटी