टिकटकले आफ्नो डेटा संकलनको साम्राज्य तीव्र गतिमा विस्तार गरिरहेको छ । तपाईँले टिकटक एप प्रयोग गर्नुहुन्न भने पनि तपाईँ सुरक्षित हुनुहुन्छ भन्ने छैन । तर, केही सजिला उपाय अपनाएर तपाईँले आफ्नो गोपनीयता जोगाउन सक्नुहुन्छ ।
टिकटकले आफ्नो एपभित्र तपाईँले गर्ने हरेक गतिविधिको निगरानी गर्छ भन्ने त सामान्य कुरा हो । तर अचम्मको कुरा के छ भने, टिकटकसँग कुनै सम्बन्ध नै नभएका इन्टरनेटका अन्य भागहरूमा पनि यसले तपाईँको पिछा गरिरहेको हुन्छ ।
वास्तवमा, तपाईँले कहिल्यै टिकटक प्रयोग गर्नुभएको छैन भने पनि यसले तपाईँबारे संवेदनशील र गोप्य जानकारी जम्मा गरिरहेको हुन सक्छ । पछिल्ला अध्ययनहरूले देखाएका छन्, विभिन्न वेबसाइटहरूले क्यान्सरको निदान, प्रजनन क्षमता र मानसिक स्वास्थ्यजस्ता नितान्त व्यक्तिगत जानकारीहरू पनि टिकटकलाई पठाइरहेका छन् ।
अदृश्य जासुसः पिक्सेल (Pixel) के हो ?
यो समस्याको मुख्य जड टिकटकको ‘पिक्सेल’ नामक ट्र्याकिङ टुलमा भएको परिवर्तन हो । पिक्सेल भनेको स्क्रिनमा नदेखिने एउटा सानो अदृश्य तस्बिर वा कोड हो, जुन वेबसाइटहरूको ब्याकग्राउन्डमा लोड हुन्छ । गुगल, फेसबुक (मेटा) र अन्य विज्ञापन नेटवर्कहरूले पनि वर्षौंदेखि यसको प्रयोग गर्दै आएका छन् ।
उदाहरणका लागि, यदि तपाईँ जुत्ता बेच्ने वेबसाइट चलाउनुहुन्छ भने, तपाईँले टिकटकको पिक्सेल प्रयोग गर्न सक्नुहुन्छ । यसले कुन प्रयोगकर्ताले कस्तो जुत्ता हेरे र किनमेल गरे भन्ने डेटा टिकटकलाई दिन्छ, जसले गर्दा टिकटकले ती प्रयोगकर्तालाई सोही अनुसारको विज्ञापन देखाउन सक्छ ।
तर, जब कुरा स्वास्थ्य र संवेदनशील विषयको आउँछ, यो खतरनाक हुन्छ । साइबर सुरक्षा कम्पनी डिस्कनेक्टले गरेको विश्लेषण अनुसार, जब प्रयोगकर्ताले कुनै क्यान्सर सपोर्ट ग्रुपको वेबसाइटमा आफू बिरामी भएको विवरण भर्छन् वा प्रजनन जाँचसम्बन्धी वेबसाइट हेर्छन्, त्यो जानकारी र ईमेल ठेगाना टिकटकसम्म पुग्छ । यसका लागि तपाईँको टिकटक खाता हुनु जरुरी छैन ।
टिकटकको डेटा साम्राज्य
गोपनीयता सम्बन्धी कम्पनी डकडकगो (DuckDuckGo) का अनुसार, विश्वका शीर्ष वेबसाइटहरूमध्ये ५ प्रतिशतमा टिकटकका ट्र्याकरहरू छन् । यो संख्या गुगल (७२ प्रतिशत) र मेटा (२१ प्रतिशत) को तुलनामा कम भए पनि टिकटकले यसलाई आक्रामक रूपमा विस्तार गरिरहेको छ । विज्ञहरूका अनुसार, टिकटकको नयाँ पिक्सेल कोड पहिलेभन्दा धेरै आक्रामक छ । यसले वेबसाइट मालिकहरूलाई थाहै नदिई गुगललाई पठाउन लागिएको डेटासमेत बीचमै तानेर आफैँसँग राख्न सक्छ ।
आफूलाई कसरी सुरक्षित राख्ने ?
खुसीको कुरा के छ भने, ५ मिनेट समय निकालेर तपाईँले आफ्ना महत्त्वपूर्ण जानकारी टिकटकको हातमा पर्नबाट रोक्न सक्नुहुन्छ । यहाँ केही उपायहरू छन्,
१. सुरक्षित वेब ब्राउजरको प्रयोग गर्नुहोस् – सबैभन्दा राम्रो उपाय भनेको क्रोमको सट्टा गोपनीयतामा केन्द्रित ब्राउजर प्रयोग गर्नु हो । धेरैजसो मानिस क्रोम चलाउँछन्, तर यसले प्रयोगकर्ताको धेरै जानकारी लिक गर्ने गरेको पाइएको छ ।
- डकडकगो वा ब्रेभ ब्राउजर प्रयोग गर्नुहोस् । यी ब्राउजरहरू डेटा सुरक्षित राख्नकै लागि बनाइएका हुन् ।
- फायरफक्स र सफारी पनि क्रोमभन्दा सुरक्षित विकल्प हुन् ।
२. ट्र्याकर ब्लकर एक्स्टेन्सन राख्नुहोस् – यदि ब्राउजर फेर्न गाह्रो लाग्छ भने, आफ्नो हालको ब्राउजरमा ट्र्याकर रोक्ने ‘एक्स्टेन्सन’ इन्स्टल गर्नुहोस् ।
- प्राइभेसी ब्याजर, घोस्टेरी, वा यूब्लक ओरिजिनजस्ता एक्स्टेन्सनहरू प्रभावकारी हुन्छन् ।
- जथाभावी एक्स्टेन्सन इन्स्टल नगर्नुहोस्, विश्वसनीय स्रोतका एक्स्टेन्सन मात्र प्रयोग गर्नुहोस् ।
के यतिले पूर्ण सुरक्षा दिन्छ ?
माथिका उपायले पिक्सेल ट्र्याकिङ रोक्न मद्दत गर्छ, तर यो पूर्ण समाधान भने होइन । कम्पनीहरूले आफ्नो सर्भरबाट सिधै ठूला टेक कम्पनीहरूलाई डेटा बेच्ने वा साटासाट गर्ने काम ब्याक–एन्ड (पर्दा पछाडि) बाट पनि गरिरहेका हुन्छन् ।
त्यसैले, अनलाइन दुनियाँमा आफूलाई सुरक्षित राख्ने सबैभन्दा बलियो हतियार भनेको सचेतना र विभिन्न ठाउँमा एउटै व्यक्तिगत विवरण प्रयोग नगर्नु नै हो । साथै, यसका लागि बलियो गोपनीयता कानूनको आवश्यकता पनि उत्तिकै छ ।
