निर्वाचन सुरक्षाबारे अनुगमन गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रदेशमा एआइजीहरुलाई खटाएको छ । सात वटा प्रदेशको निर्वाचन सुरक्षा चुनौतीबारे बुझ्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) खटिएका हुन् ।
प्रहरी प्रधान कार्यालयस्थित प्रशासन विभागमा कार्यरत एआइजी हिमालय कुमार श्रेष्ठ सुदूरपश्चिम प्रदेशको सुरक्षा चुनौती बुझ्न खटिएका छन् । मधेस प्रदेशका सबै जिल्लामा पुगेर एआइजी डम्बर बिक काठमाडौँ फर्किएका छन् ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मधेस प्रदेश सबैभन्दा संवेदनशील मानिएको छ । चुनावभन्दा दुई दिनअघि हुने होलीका कारण निर्वाचन प्रभावित हुने आँकलन गरिएको छ ।
गण्डकीमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एआइजी डा.मनोज केसी, बागमती प्रदेशमा शिद्धी बिक्रम शाह, कर्णालीमा सुशिल सिंह राठौर र कोशी प्रदेशमा राजन अधिकारीलाई खटाउने निर्णय गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए ।
लुम्बिनी प्रदेशमा कार्य विभागका प्रमुख उमाप्रसाद चतुर्वेदी खटिने भएका छन् । एआइजीहरूले निर्वाचन सुरक्षामा हालसम्म भएको तयारी, साधन स्रोतको अवस्था र संवेदनशीलताबारे अध्ययन गर्नेछन् ।
प्रहरीका एक जना एआइजी भन्छन्, ‘अनुगमनबाट फर्केपछि हामी प्रतिवेदन दिन्छौँ, सो प्रतिवेदनको आधारमा सुरक्षा रणनीति तय गरिनेछ ।’ एआइजीहरूले जिल्ला सुरक्षा समितिसँग पनि निर्वाचन सुरक्षा चुनौती र स्थानीय तहमा तय गरिएको रणनीतिबारे बुझ्नेछन् ।
प्रदेशमा पुगेर फर्केका एक जना एआइजी भन्छन्, ‘प्रहरीको मनोबल बढाउन हामीले दिशानिर्देश गरेका छौँ ।’ यसैबीच, प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा प्रयोग गर्न प्रहरीले सेनासँग हतियार ‘सापटी’ लिँदैछ । निर्वाचन सम्पन्न भएपछि फिर्ता गर्ने गरी जङ्गी अड्डासँग २८ सय पेस्तोल माग गरिएको प्रहरीका एक जना उच्च अधिकृतले बताए ।
प्रहरीको माग अनुसार सेनाले पेस्तोल दिने निर्णय गरिसकेको छ । २०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि प्रहरीले सेनासँग हतियार मागेर चलाएको थियो । त्यसबेला ‘बालगिरी’मा प्रहरीले सेनासँग २८ सय हतियार लिएर थियो ।
