२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

लघुवित्तका कर्मचारीमाथि छुरा प्रहार गरेर लुटपाट, ‘सिरिन्ज’ले घोपेर हत्या

सर्लाहीको लालबन्दीमा रहेको एक लघुवित्त वित्तीय संस्थामा दिनदहाडै लुटपाट भएको छ । बिहीबार दिउँसो अज्ञात समूहले कार्यालयभित्र प्रवेश गरी कर्मचारीमाथि छुरा प्रहार गर्दै लुटपाट गरेको हो ।

प्रहरीका अनुसार ५ देखि ६ जनाको समूह योजनाबद्ध रूपमा कार्यालयमा पसेर लुटपाट गरेको हो । आक्रमणकारीहरूले कर्मचारीलाई कोठाभित्र थुनेर रकम तथा अन्य सामग्री लुटेको प्रहरीले जनाएको छ ।

घटनाका क्रममा छुरा प्रहारबाट केही कर्मचारी घाइते भएका छन् । उनीहरूको अवस्था खतरामुक्त रहेको जनाइएको छ । घटनापछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान अघि बढाइरहेको छ भने संलग्न समूहको खोजी तीव्र बनाइएको छ ।

यता झापाको भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ अज्ञात व्यक्तिको आक्रमणबाट सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आक्रमणबाट गम्भीर घाइते भएका उनको अस्पताल पुर्याउने क्रममा बाटोमा मृत्यु भएको हो । बिहीबार साँझ छिमेकीको घरबाट आफ्नो निवासतर्फ फर्किंदै गर्दा ढकाललाई अज्ञात व्यक्तिहरूले सिरिन्जले हानेका हुन् ।

आक्रमणमा संलग्न आशंकामा सिराहाका २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरिएको झापा प्रहरीका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए । सिरिन्जमा प्रयोग गरिएको पदार्थबारे जानकारी भइनसकको उनले बताए ।

प्रकाशित मिति : २०८२ माघ २३ गते शुक्रबार