नेवार समुदायको परम्परागत, मौलिक एवं सांस्कृतिक खाद्य परिकार यमरीलाई संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक साँस्कृतिक सङ्गठन (युनेस्को)को अभौतिक साँस्कृतिक सम्पदामा सूचीकृत प्रक्रियाबारे छलफल अघि बढेको छ । काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका पदाधिकारी र समुदायका प्रतिनिधिबीचको छलफलमा यस्तो प्रक्रिया अघि बढाइएको समितिका संयोजक आशामान सङ्गतले जानकारी दिए ।
‘हरेक शुभकार्यसँग जोडिएको यमरीको महत्त्व र पहिचानलाई राष्ट्रियकरण गर्दै अभौतिक युनेस्कोको अभौतिक सम्पदा विधामा सूचीकृत गराउनु अन्तर्राष्ट्रियकरणको प्रक्रिया हो । यसले नेपालकै पहिचान वृद्धि हुन्छ,’ छलफलमा समितिका संयोजक आशामान सङ्गतले भने, ‘योमरी बनाउने परम्परा खाद्य परिकारमात्र होइन । प्रकृति, कृषि पेसा, धार्मिक, साँस्कृतिक तथा सामाजिक पक्षसँग गहिरो सम्बन्ध राख्छ ।’
त्यस क्रममा समितिका सदस्य एवं वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले, सूचीकृत हुने प्रक्रियालाई निर्धारित समयभित्रै सक्नुपर्नेमा जोड दिए । उनले, यस्ता सम्पदाको गरिमा प्रवर्धनमा सबै मिलेर काम गर्नुपर्ने धारणा उनले राखे । यमरीको गरिमालाई स्थानीयस्तरमा पनि प्रवर्धन गर्न अभिमुखीकरण र प्रशिक्षण सञ्चालन गर्नुपर्ने महर्जनले बताए ।
छलफल र अन्तक्र्रियालाई नियमितता दिइने, त्यस्ता कार्यक्रममा समुदायका अगुवाहरूको सुझाव र प्रतिक्रियालाई ग्रहण गरिने सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईको भनाइ छ । अभौतिक सांस्कृतिक सम्पदा सम्बन्धी महासन्धि २००३ मा भएको हो । नेपाल सन् २०१० मा पक्ष राष्ट्र भएको हो । यसअन्तर्गत आफ्नो देशभित्र रहेका अभौतिक सांस्कृतिक सम्पदाहरूको सूची तयार पार्नु, अनुसन्धान गर्नु, सुरक्षा, संरक्षण र प्रवद्र्धन तथा परम्परालाई निरन्तरता दिनु महत्त्वपूर्ण काम हुन् ।
