२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

मेडिकल सिटी बन्यो चितवन, बिरामीलाई रोजीछानी उपचार गर्ने अवसर

कुनै समय दैनिक ६० हाराहारीमा बिरामी बोकेका एम्बुलेन्स चितवनबाट काठमाडौँ जाने गर्दथे । हिजोआज त्यो सङ्ख्या तीन–चार वटामा झरेको छ । भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा भोजराज अधिकारीले झण्डै आठ वर्षअघि भरतपुरको आँपटारीमा २४ घण्टा एम्बुलेन्सको तथ्याङ्क लिँदा ६० एम्बुलेन्स बिरामी लिएर काठमाडौँ गएको विवरण सुनाए ।

उनका अनुसार त्यसपछिका दिनमा क्रमशः बिरामी जाने क्रम घट्दै आएको छ । उनले भने, ‘अहिले भरतपुरमा सबै खालका रोगको उपचार हुने भएपछि निकै कम मात्र बिरामी बाहिर जान्छन् ।’ संयुक्त एम्बुलेन्स चालक सङ्घका केन्द्रीय अध्यक्ष नवराज लामिछाने पहिले पहिले धेरै एम्बुलेन्स चितवनबाट बिरामी बोकेर काठमाडौँ जाने गरेको बताउँछन् ।

पछिल्ला दिनमा दैनिक तीन–चारवटा एम्बुलेन्स मात्रै काठमाडौँ जाने गरेको उनले बताए । टाउको, मिर्गाैला, हार्डजोर्नीका गम्भीर समस्या भएका बिरामी फाट्टफट्ट जाने गरेको उनी बताउँछन् । भरतपुरमा उपचार हुने भए पनि ठूलो अस्पताल खोज्दै र काठमाडौँमा आफन्त तथा घर भएकाहरु जाने गरेको उनले बताए । यसका अतिरिक्त एक अस्पतालबाट चितवनकै अर्काे अस्पतालमा रिफर गर्ने परिपाटी नहुँदा पनि काठमाडौँ बिरामी जाने गरेको उनले बताए ।

काठमाडौँ पुगेर सेवा लिँदा हुने झन्झटका कारण पनि स्थानीयस्तरमै सकेसम्म उपचार गर्न धेरैले चाहना गर्ने गरेको लामिछाने बताउँछन् । जिल्लामा सङ्घीयस्तरको सरकारी भरतपुर अस्पताल, राष्ट्रियस्तरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई वटा ठूला मेडिकल कलेज, बागमती प्रदेशको बकुलहर रत्ननगर अस्पताल, २५ भन्दा बढी निजी अस्पताल, आँखा अस्पताल, निजीस्तरको सिएमसी क्यान्सर इन्स्टिच्यूट लगायतका स्वास्थ्य संस्था यहीं भएका कारण बिरामीलाई रोजीछानी उपचार गर्ने अवसर मिलेको छ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेल चितवनमा सेवा सुविधा र विश्वसनीयता बढेका कारण बिरामी बाहिर जाने घटेको बताउँछन् । उनले भने, ‘क्यान्सरका धेरैजसो बिरामी काठमाडौँबाट यहाँ आउँछन् ।’ दक्ष जनशक्ति, आधुनिक प्रविधि सहितका अत्याधुनिक उपकरण, सरल सेवासुविधा, बिरामीमैत्री सेवा चितवनका अस्पतालमा उपलब्ध हुन थालेपछि बिरामीको आकर्षण बढेको उनी बताउँछन् ।

जिल्लामै रोबटिक सर्जरीसम्मको उपचार हुने हुँदा काठमाडौँका बिरामी चितवन आउन थालेपछि यहाँका बिरामी जान छाडेको उनले बताए । जिल्लामा स्वास्थ्य क्षेत्रमा ठूलो लगानी भएको छ । सरकारी अस्पतालमा मात्रै होइन, निजी क्षेत्रले पनि ठूलो लगानी अस्पतालमा गर्ने गरेको छ । चितवन मेडिकल कलेजका कार्यकारी अध्यक्ष प्राडा हरिश्चन्द्र न्यौपानेले डिएम र एमसिएच गरेका २७ विशेषज्ञ चिकित्सक अहिले सीएमसीमा मात्रै रहेको बताए ।

उनको भनाइमा राजधानी काठमाडौँबाट आफ्नो मेडिकल कलेजमा उपचारका लागि बिरामी आउने गरेका छन् । उनले भने, ‘रोबोटिक सर्जरी, मुटु, क्यान्सर, न्यूरो लगायतका उपचारका लागि काठमाडौँबाट यहाँ बिरामी आउने गरेका छन् ।’ उनले काठमाडौँमा नहुने क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्यूटमा हुन्छ । उनका अनुसार न्यूरोको ट्युमर, अर्लिस्टेजका ट्युमरको उपचार काठमाडौँमा नभई चितवनमा हुन्छ ।

क्यान्सरको केमोथेरापी, ब्राकीथेरापी, रेडियो थेरापी लगायत सबै खालको प्रविधि र उपचार आफूहरुले सरकारी सुविधा तथा दररेटमा गर्दै आएको उनको भनाइ छ । उनका अनुसार क्रिटिकल केयरको सुविधा नेपालमा हुनेमा सबैभन्दा राम्रो चितवनमा रहेको छ । रोबोटिक सर्जरीमा नेपालमै सबैभन्दा बढी यही हुने गरेको उनले बताए । मुटुको सबै खालका शल्यक्रिया यहाँ हुने गरेको भन्दै उनले यहाँबाट बिरामी काठमाडाँैं नभएर काठमाडौँबाट धेरै बिरामी यहाँ आउने गरेको दाबी गरे ।

चितवनमा उच्चस्तरका प्रयोगशाला, इमेजिङ्ग सेन्टर पनि रहेका छन् । त्यसका कारण रोग पहिचानमा पनि सहज हुने गरेको छ । आँखा उपचारका लागि नेपाल नेत्रज्योति सङ्घले भरतपुरमा सञ्चालन गरेको भरतपुर आँखा अस्पतालमा चितवन र छिमेकी जिल्लाका बिरामी आउने गर्दछन् । यहाँका अस्पतालहरुमा चितवन र छिमेकी जिल्लाबाट बिरामी आउने गरेका छन् । क्यान्सरका बिरामी देशैभर र भारतबाटसमेत आउने गर्दछन् ।

सरकारी बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा लामो पालो कुर्नुपर्दा बाहिर जाने बिरामी अहिले यही चितवन मेडिकल कलेजले सञ्चालन गरेको क्यान्सर इन्स्टिच्यूटमा त्यहीको दररेटमा उपचार पाउने भएपछि बाहिर जान छाडेका छन् । केही वर्ष अघिसम्म बाल सघन उपचार कक्ष नहुँदा धेरै बालबालिकाको अकालमा ज्यान जाने गर्दथ्यो । त्यस्तै मुटु र टाउकोको उपचार नपाउँदा धेरैले ज्यान गुमाउनुपर्ने अवस्था थियो ।

अहिले यी सबैको सेवा यहीं उपलब्ध भएसँगै धेरैको ज्यान बचेको छ । नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा अनिलविक्रम कार्की एक दुई बाहेक सबै खालका उपचार चितवनमा हुने भएकाले बिरामी बाहिर जान रोकिएको बताउँछन् । उनले भने, ‘सघन उपचार कक्ष, आधुनिक प्रविधि र दक्षजनशक्ति थपिँदै जाँदा यहाँको सेवा विश्वसनीय बनेको छ ।’ पछिल्ला दिनमा नेपाल सरकार र निजी क्षेत्रले स्वास्थ्य क्षेत्रमा यहाँ गरेको लगानीका कारण उपचार क्षेत्रमा फड्को मारेकै कारण बिरामी बाहिर जानेभन्दा आउने बढेको उनले बताए ।

प्रकाशित मिति : २०८२ माघ २२ गते बिहीबार