२०८२ माघ १६ , शुक्रबार 30, January 2026, Friday

निर्वाचन सुरक्षामा खटिँदै ७५ हजार ४९७ प्रहरी

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ १२ गते सोमबार

आसन्न निर्वाचनका लागि नेपाल प्रहरीले ७५ हजार ४९७ जना प्रहरी परिचालन गर्ने भएको छ । प्रहरी प्रवक्ता डीआइजी अविनारायण काफ्लेले प्रहरी कर्मचारीलाई विभिन्न भूमिकामा परिचालन गरिने जानकारी दिए ।

उनका अनुसार मोबाइल गस्ती, रिजर्भ बल, निगरानी तथा कमान्ड सेन्टर सञ्चालनजस्ता भूमिका रहनेछन् । प्रवक्ता काफ्लेले एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरीले सुरक्षामा खटिने प्रहरीलाई सहयोग गर्ने बताउँदै करिब दुई लाख जनशक्ति निर्वाचनमा परिचालन हुने जानकारी दिए ।

निर्वाचन सुरक्षाका विषयमा केन्द्रित प्रश्नमा काफ्लेले आन्दोलनका क्रममा हराएका वा लुटिएका हतियार फिर्ता गर्न विशेष टास्क फोर्स परिचालन गरिएको र अधिकांश लुटिएका हतियार तथा फरार अपराधीहरू हाल नियन्त्रणमा रहेको बताए ।

उनले भने, ‘हामीले यकिन सूचनाका आधारमा शंकास्पद क्षेत्रमा छापा मारेका छौँ । फरार कैदीहरूको विस्तृत विवरण र ठेगाना प्रत्येक प्रहरी चौकी र स्थानीय नगरपालिकामा पठाइएको छ । सुरक्षा संयन्त्रलाई यो काममा केन्द्रित गरेका छौँ, ताकि निर्वाचनमा यस्ता तत्वहरूले खतरा बढाउन नसकून् ।’

काफ्लेले प्रहरीसँग रहेका ६९४ साना सवारी, ४२ ठूला सवारी र दुई हजार ६२८ मोटरसाइकल रहेको बताए । उनले भने, ‘हामीलाई थप एक हजार ४८२ साना सवारी, १३२ ठूला सवारी र ४१७ मोटरसाइकल आवश्यक छन् । त्यसका लागि हामीले सरकार र निर्वाचन आयोगसँग मिलेर स्थापित प्रोटोकल अनुसार निजी तथा सार्वजनिक क्षेत्रका सवारी उपलब्ध गराउन अनुरोध गरेका छौँ ।’

प्रवक्ता काफ्लेले कतिपय क्षेत्रमा चुनाव केन्द्रित झडप र तनावका घटना भएको उल्लेख गर्दै राजनीतिक रूपमा संवेदनशील क्षेत्रहरूमा स्थानीय प्रशासन, निर्वाचन अधिकृतको कार्यालय र सुरक्षा एजेन्सीबीच त्रिपक्षीय समन्वय स्थापित गर्ने काम भइरहेको बताए ।

उनले भने, ‘हामी पुराना विधिभन्दा फरक, आधुनिक तरिकाले भीड व्यवस्थापन रणनीतिमा केन्द्रित छौँ ।’ उनले सामाजिक सञ्जालबाट फैलिने अफवाह र घृणाजन्य सामग्री नियमन गर्न पनि प्रहरीले काम गरिरहेको बताए । निर्वाचन अवधिका लागि जिल्ला स्तरसम्म साइबर सेल स्थापना गरिएको जानकारी दिए ।

उनले भने, ‘हामीले इ–मनिटर नामक सफ्टवेयर प्रयोग गरेर मिथ्या सूचना, अफवाह र घृणाजन्य भाषाको पहिचान गर्छौँ ।’ निर्वाचन आयोगसँग समन्वय गरी जनतालाई भ्रमित पार्ने उम्मेदवार वा कार्यकर्ताको पहिचान गर्ने काम पनि भइरहेको उनले बताए । प्रवक्ता काफ्लेले प्रहरी कर्मचारीहरूले उम्मेदवारहरूसँग तस्वीर तथा भिडियो खिच्न नपाइने र त्यस्ता सामग्री लाइक, सेयर वा पोस्ट गर्न निषेध गरिएको बताए ।

उनले भने, ‘हामीसँग स्पष्ट दिशानिर्देश छन् । प्रहरी नियमावली २०७१, मिडिया नीति २०६० र २०७७ को आचारसंहिताले प्रहरी कर्मचारीलाई कुनै पनि असम्प्रदायिक व्यवहार गर्न रोक लगाएको छ, जसमा राजनीतिक उम्मेदवारसँग फोटो खिच्नु, लाइक, सेयर र पोस्ट गर्नु पनि समावेश छ । मातहतका सबै कार्यालयमा परिपत्र जारी गरिएको छ । यस्ता कार्यमा संलग्न हुनेलाई विभागीय अनुशासनात्मक कारबाही हुनेछ । हामी कर्मचारीको डिजिटल फुटप्रिन्टको निगरानी पनि गरिरहेका छौँ ।’

प्रकाशित मिति : २०८२ माघ १२ गते सोमबार