सबैजनाले आफ्नो शरीरमा कति चिनी खपत भइरहेको छ भनेर थाहा पाउन महत्त्वपूर्ण छ । तपाईँले आफूले महसुस गरेभन्दा धेरै खाइरहनुभएको हुनसक्छ, र धेरै चिनी खपत गर्दा टाइप टु डाइबिटिज, मुटुरोग र क्यान्सर हुने जोखिम उच्च रहन्छ । विगत केही दशकमा संसारभरि नै आहार धेरै परिवर्तन भएको छ ।
यो सँगै मोटोपना र मधुमेहको समस्या पनि तीव्र रूपमा वृद्धि भएको छ । द ल्यान्सेट मेडिकल जर्नलमा प्रकाशित तथ्याङ्क अनुसार सन् २०५० सम्ममा वयस्कमध्ये आधाभन्दा धेरै र एक तिहाइ बालबालिका, किशोरावस्थाका र नवयुवाहरूमा बढी वजन वा मोटोपना देखिनेछ । धेरै देशका स्वास्थ्य प्रणालीहरू यो सँग जुझ्न सङ्घर्ष गरिरहेका छन् ।
सन् २०५० सम्म नेपालका वयस्कमध्ये ५२ प्रतिशतभन्दा बढी पुरुष र ४७ प्रतिशतभन्दा बढी महिलामा मोटोपनको समस्या देखिने अध्ययनले औँल्याएको छ । हाम्रो वजन ठिक राख्न हामीले सामना गर्ने एउटा महत्त्वपूर्ण चुनौती भनेको हामीले खाने खानेकुरामा नदेखिने चिनीको मात्रा धेरै हुन्छ । चाहे त्यो दहीमा होस् वा पाउरोटी वा सलादमा राखिने ड्रेसिङदेखि केचअप र स्मुदीहरूमा नै किन नहोस् ।
फ्री सुगर भनेको के हो ?

गुलिया दही, ग्रनोला र फलफूलको जुस सुन्दा स्वस्थकर बिहानी खाजाजस्तो लाग्छ । तर तपाईँले कुन चाहिँ छान्नुभएको हो भन्नेमा भर पर्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले दिनभरिका लागि सुझाएको भन्दा बढी चिनी तपाईँलेमध्ये कैयौँले बिहानै खपत गरिसक्नुभएको पनि हुन सक्छ ।
यूकेको न्याश्नल हेल्थ सर्भिसका अनुसार वयस्कहरूले प्रतिदिन ३० ग्रामभन्दा धेरै चिनी खानुहुँदैन । खानेकुरा वा पेय पदार्थमा प्रशोधनका बेला प्रयोग गरिएको ‘फ्री सुगर’देखि प्राकृतिक रूपमा मह, सिरप लगायतमा हुनेसम्म सबै चिनीलाई त्यसमा समावेश गर्नुपर्छ । त्यो फलफूलका जुसमा पनि हुने गर्छ ।
खानेकुरामा चिनी कसरी रहेको छ भन्नेमा तपाईँको शरीरले कसरी चिनी प्रशोधन गर्छ भन्ने कुरा भर पर्छ । उदाहरणका लागि जब तपाईँ पूरै फलफूल वा तरकारी खानुहुन्छ भने त्यसमा भएको फाइबरले तपाईँको पाचनलाई सुस्त बनाउँछ र त्यसले चिनीको मात्रा रगतमा उच्च बन्नबाट जोगाउँछ ।
यद्यपि, यदि तपाईँले मिसाइएको चिनी वा फ्री सुगर खानुहुन्छ भने त्यो तपाईँको रगतमा छिट्टै प्रवेश गर्छ र धेरै मात्रामा जान्छ । त्यसले तपाईँको रगतमा चिनीको मात्रा ह्वात्तै बढाइदिन्छ । फलफूल वा तरकारीको जुस पिउँदा पनि त्यस्तै हुन्छ किनभने जुस बनाउँदा फलफूल र तरकारीमा भएका लाभदायी फाइबर त्यसबाट निकालिन्छ ।
समयसँगै जब यसरी रगतमा चिनीको मात्रा ह्वात्तै बढ्ने क्रम भइरहन्छ अर्को समस्या के देखिन्छ भने होर्मोन इन्सुलिनमा कोशिकाहरूले कम प्रतिक्रिया जनाउन थाल्छन् । प्रशोधित खानेकुराको वृद्धिका कारण पनि अघिल्लो पुस्ताको तुलनामा हाम्रो आहारमा चिनीको धेरै हिस्सा बढेको हो ।
तपाईँले चिनी वा नुन नहोला भन्ने ठानेका मासु र माछामा पनि स्वादिलो बनाउन वा लामो समयसम्म टिकाउन चिनी वा नुन राखिएको हुन्छ । अति प्रशोधित खानेकुरामा त चिनीको मात्रा अझ धेरै हुन्छ । यस्ता प्रकारका खानाहरू उद्योगमा प्रशोधित गरिएका हुन्छन् र त्यसमा थुप्रै जटिलखाले सामग्रीहरू राखिएका हुन्छन् ।
यदि कुनै उत्पादनमा पाँचभन्दा बढी सामग्रीहरू राखिएका छन् भने ती खानेकुरा अतिप्रशोधित भएको हुनसक्ने सम्भावना उच्च हुन्छ । सामग्रीमा के के राखिएका छन् भनेर पनि आँखा लगाउन सकिन्छ जस्तै हाइ–फ्रुक्टोज कर्न सिरप, फ्रुटजुस कन्सन्ट्रेट, मह सबै चिनीकै वैकल्पिक नाम हुन् । त्यसैले मिल्कशेक वा पास्ता ससमा तपाईँले दिनभरि खान मिल्ने भन्दा बढी चिनीको मात्रा हुन सक्छ ।
विश्वको सबैभन्दा चिनी भएको मनपर्ने खानेकुरा

विश्वव्यापी रूपमा चिनी हाम्रो स्वास्थ्यका लागि खराब भन्ने जनचेतना बढेको भए पनि हामीले दैनिक विगतमा कहिल्यै नखाएको मात्रामा चिनी खाइरहेका छौँ । विश्वव्यापी स्वास्थ्य निकायहरूले प्रतिव्यक्ति धेरै चिनी खाने देशमा अमेरिका रहेको बताएको छ तर भारत, चीन, पाकिस्तान र इन्डोनेशियामा पनि खपत गर्नेको सङ्ख्या वृद्धि भइरहेको छ ।
यदि विश्वव्यापी रूपमा मोटोपनाको प्रवृत्तिले निरन्तरता पाउने हो भने सन् २०५० सम्ममा मोटोपना वा अतिवजन हुने महिलाको सङ्ख्या ६०.३ प्रतिशत र पुरुषको ५७.४ प्रतिशतले वृद्धि हुने द ल्यान्सेटमा प्रकाशित तथ्याङ्कले देखाउँछ । उक्त तथ्याङ्कमा २०० भन्दा बढी देश समेटिएका थिए । २५ वर्षमा चीन, भारत र अमेरिकामा मोटोपना र अति वजन हुने जनसङ्ख्या ६२ करोड ७० लाख, ४५ करोड र २१ करोड ४० लाख पुग्ने अनुमान गरिएको छ ।
यसले ती देशहरूको राष्ट्रिय स्वास्थ्य प्रणालीहरूमा उल्लेख्य दबाव पार्नेछ । सब साहारा अफ्रिकामा पनि अतिवजन हुने वा मोटोपना हुने मानिसको सङ्ख्या २५० प्रतिशतले बढाएर ५२ करोड २० लाख पुग्ने छ । खासगरी नाइजेरियामा अतिवजन र मोटोपना हुने मानिसको सङ्ख्या सबैभन्दा धेरै हुने र तेबरले बढ्ने अनुमान गरिएको छ ।
तर हामीले यो सङ्कटबाट नियन्त्रण पाउन र आफ्नो भविष्यको स्वास्थ्य राम्रो बनाउन गर्न सकिने कुराहरू छन् । सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार अमेरिकामा उदाहरणका लागि ६३ प्रतिशत वयस्कहरूले दैनिक रूपमा गुलियो पेय पदार्थ पिउने गरेका छन् । यी पेय पदार्थ, मिठाइ, अतिप्रशोधित खानेकुरा नखाँदा त्यसले स्वास्थ्यमा ठूलो सुधार ल्याउँछ ।
विश्व स्वास्थ्य सङ्गठनले एडेड सुगर दैनिक खपत गर्ने क्यालोरीको १० प्रतिशतभन्दा कम गर्न वा अधिकतम स्वास्थ्यका लागि पाँच प्रतिशतभन्दा कम गर्न सुझाएको छ । त्यो भनेको दैनिक करिब ६ चम्चा चिनी हो जसमा सबैप्रकारका चिनी मिसिएका खानेकुराहरू पर्छन् । डब्ल्यूएचओले चाहिनेभन्दा वजन धेरै छ कि छैन भनेर पनि आफ्नो बडी इन्डेक्स मासमा ध्यान दिन सुझाएको छ ।
बीएमआई मोटोपनाको यकिन मापक हो ?

तपाईँको बीएमआई कस्तो छ भनेर संसारभरि नै चिकित्सकहरूले हेर्छन् किनभने यो तपाईँको वजन र उचाइका आधारमा गरिने तुलनात्मक रूपमा सजिलो हिसाब हो । तर यो नै उत्तम होइन र त्यसका सीमितताहरू छन् । यसले कुनै पनि मानिस आफ्नो उचाइको दाँजोमा वजन बढी छ कि छैन भनेर हिसाब गर्छ तर त्यो बोसोकै कारणले हो कि होइन भनेर थाहा हुँदैन ।
तपाईँको बीएमआईले बोसो कतै धेरै जम्मा भएको छ कि छैन भन्ने फरक किसिमको शरीरमा पनि फरक हुने ख्याल गर्दैन । यसले उमेर, शारीरिक गतिविधि र महिला वा पुरुष पनि हेर्दैन । युकेमा रहेका अश्वेत, एशियाली र अन्य अल्पसङ्ख्यक पृष्ठभूमिका मानिसहरू जसको कम बीएमआई छ उनीहरूमा मुटुरोग वा टाइप टू मधुमेहजस्ता दीर्घरोगको उच्च जोखिममा रहेको पाइएको छ ।
त्यसैले गएको ज्यानुअरीमा यूकेको न्याश्नल इन्स्टिट्यूट फर हेल्थ एन्ड केअर एक्सिलेन्स (एनआइसीई)ले नयाँ निर्देशिका प्रकाशित गरेको छ । यो समूहलाई बीएमआईको हुनुपर्ने अङ्क कम पारिएको छ जसको अर्थ अतिवजन हुने सम्भावित खतरा प्रारम्भिक चरणमै सम्बोधन गर्न सकियोस् । एनआइसीईको निर्देशिकाले शरीरको वजनले शरीरको बोसो र मांसपेशी जातीय समूह अनुसार फरक पर्ने उल्लेख गरेको छ ।
- तथ्याङ्क सङ्कलन र अनुसन्धान : डमिलला ओजेटूनडे, श्वाती जोशी, कार्ला रोश, मर्याम निकन, ओनुर इरेम, क्यारोलिन सूजा, कार्लोस सेरानो, अघ्नीआ अड्ज्किया, अमिरा म्हद्बी र ब्रायन ओस्वेटा
- प्रोड्युसर : एन्जिला हेन्सल र लियोनी रोबर्टसन
- सम्पादन : अलेक्सान्डर फौच र भिक्टोरिया लिन्डेरा
- डिजाइन र ग्राफिक्स : रइस हुसेन र मर्यम निकन
- डिभिलप्मेन्ट : म्याथ्यू टेलर
- प्रोजेक्ट लिड : प्रिन्सेस इरेडे अबूमियर
- सिनिअर न्यूज एडिटर : केट फोर्ब्स
