अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौं आइपुगिसकेको जानकारी दिए ।
अमेरिकाले चाटर्ड विमानमार्फत उनीहरुलाई काठमाडौं ल्याएर छाडेको हो । विभागका महानिर्देशक तिवारीले यसरी अहिलेसम्म ४०० भन्दा बढी नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका बताए ।
डिपोर्ट हुनेहरु कागजात नभेटिएका, गैरकानुनी बसेका, अध्यागमन कानुन उल्लङ्घन गरेका लगायत रहेको विभागले जनाएको छ ।
उनीहरुमाथि अहिले प्रहरीको मानव बेचबिखन ब्युरोले अनुसन्धान गरिरहेको र बेचबिखनमा परेको भए उजुरी दिन ब्युरोले अनुरोध गरेको छ । आवश्यक अनुसन्धान पछि ब्युरोले परिवारको जिम्मा लगाउने जनाएको छ ।
प्रकाशित मिति : २०८२ माघ ७ गते बुधबार
