२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

‘प्रतिनिधिसभा निर्वाचनको तयारी ९० प्रतिशत सकियो’

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यतालिका अनुसार अघि बढिरहेको बताएका छन् ।

आयोगबाट स्वीकृत कार्यतालिका अनुसार माघ २ गते सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको बताउँदै कार्यवाहक प्रमुख भट्टराईले तयारीका हिसाबले ९० प्रतिशत काम सकिएको बताए ।

निर्वाचन आयोगमा चुनावको तयारी सम्बन्धमा गृहमन्त्री ओमप्रकाश अर्यालसँगको शनिबार भएको छलफलमा भण्डारीले आयोगले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनको दुवै तयारीलाई एकसाथ अघि बढाएको बताए ।

उनले भने, ‘आयोगबाट स्वीकृत कार्यतालिका अनुसार निर्वाचनको काम नियमित र तालिका अनुसार अघि बढिरहेको छ । निर्वाचन कार्यालयहरू स्थापना भइसकेका छन् । अब निर्वाचन तयारीका हिसाबले हामी ८०–९० प्रतिशतसम्म पुगेका छौँ ।’

उनले निर्वाचन आचारसंहिता पालनालाई प्रभावकारी बनाउने पनि बताए । आचारसंहिता कार्यान्वयनलाई आयोगले सूक्ष्म रूपमा अनुगमन गर्ने र विगतका अनुभवका समेत आधारमा कार्यान्वयन गर्ने पनि बताए ।

छलफलमा गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन सुरक्षा प्रत्याभूतिमा सरकारले कुनै कमी हुन नदिने बताए । मन्त्री अर्यालले मन्त्रालय र आयोगबिच समन्वयमा हुनुपर्ने कामलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पनि जनाए ।

उनले भने, ‘मन्त्रालय र आयोगबिच दोहोरो समन्वय हुनुपर्ने विषय पहिचान गरी सहकार्य हुन्छ । सुरक्षा व्यवस्थामा सरकारका तर्फबाट पर्याप्त रूपमा तयारी छ । निर्वाचन तयारी, मतदान प्रक्रिया र मतगणनासम्मको एकीकृत सुरक्षा योजना अनुसार सुरक्षाको प्रत्याभूति सरकारले गर्छ ।’

आयोगका सचिव कृष्णबहादुर राउतले आयोगले हालसम्म गरेका मुख्य कामको जानकारी दिएका छन् । सचिव राउतले समानुपातिक निर्वाचनको काम तालिका अनुसार अघि बढिरहेको र प्रत्यक्षतर्फको काममा आयोग अघि बढेको बताए ।

उनले राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपत्र छपाइ सकिएको जानकारी दिँदै सम्बन्धित कार्यालयमा पठाउने चरणमा रहेको बताए । राष्ट्रिय सभामा १८ जना सदस्यका लागि हुने निर्वाचनमा एक जना निर्विरोध भइसकेको र १७ जनाका लागि चुनाव हुने उनले बताए ।

राउतका अनुसार समानुपातिकतर्फ शुक्रबारसम्म ६१ लाखभन्दा बढी मतपत्र छपाइ भइसकेको छ । दुई करोड आठ लाख हारहारीमा मतपत्र छपाइ हुनुपर्नेमा दैनिक औसत दस लाख हाराहारीमा छपाइ भइरहेको पनि जानकारी उनले दिए । माघ ९ गते प्रत्यक्षतर्फको उम्मेदवारी टुङ्गो लागेसँगै मतपत्रको डिजाइन स्वीकृत र छपाइ कार्य प्रारम्भ हुने उनले बताए ।

निर्वाचन सामग्री खरिदको प्रक्रिया जिल्ला कार्यालयहरूलाई पनि हस्तान्तरण गरिएको र सोही अनुसार काम भइरहेको उनको भनाइ थियो । सरकार मातहतका संस्थासँग खरिदलाई प्राथमिकता दिएको जानकारी उनले दिए ।

प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार