अनलाइनमा एआई निर्मित सामाग्री तीब्र वृद्धिको एउटा ठूलो असर सामाजिक सञ्जालमा हुने सेयरिङ गतिविधिमा परेको छ । फोटो, भिडिओको आधिकारिकतामा प्रश्न उठ्न थालेपछि मानिसहरू सजग भएका छन् ।
अनलाइनमा देखिने सामग्रीलाई शंकाको दृष्टिले हेर्न थालेका छन् । यो समस्याको समाधान अब गुगल ‘जेमिनाई’ले ल्याएको छ । भिडिओ अपलोड गर्नुहोस् र जेमिनाईलाई सोध्नुहोस्, ‘के यो गुगल एआई प्रयोग गरेर बनाइएको हो ?’
जेमिनाईले भिडिओको अडियो र भिजुअल दुवै ट्रयाकमा लुकेको ‘सिन्थ-आइडी’ वाटरमार्क स्क्यान गर्नेछ र आफ्नो ‘लजिक’ प्रयोग गरी कुन खण्डमा एआई सामग्री छ भन्ने सन्दर्भसहितको जवाफ दिनेछ ।
सिन्थ-आइडी के हो ?
गुगलको ‘सिन्थ-आइडी’ प्रविधिले गुगलका एआई उपकरणहरूबाट सिर्जना गरिएका तस्वीर, अडियो, टेक्स्ट र भिडिओहरूमा नदेखिने डिजिटल वाटरमार्कहरू राख्छ । गुगलले यो काम गर्ने एउटै ‘स्टान्डर्ड’ बनाउन प्रयास गरिरहेछ र यसका लागि अर्को टेक्नोलोजी कम्पनी एनभिडियासँग साझेदारी समेत गरेको छ ।
यद्यपि, हाल यो प्रविधि गुगलका आफ्नै एआईमा मात्र सीमित छ र व्यापक रूपमा प्रचलनमा आइसकेको छैन । मिडजर्नी, ओपनएआई र मेटाजस्ता अन्य एआई प्लेटफर्महरूले पनि ‘सिन्थ-आइडी’ जस्तै तस्वीर, भिडिओमा वाटरमार्क राख्न कोसिस गरिरहेका छन् ।
उनीहरूले गुगलले जस्तो शक्तिशालीभन्दा ‘सी-टु-पी-ए’ जस्ता वैकल्पिक मापदण्ड बनाइरहेका छन् । ती मापदण्डले पनि यस्तै उद्देश्य पूरा गर्ने लक्ष्य लिएका छन् । भविष्यमा यो एक विश्वव्यापी एआई पहिचान उपकरण बन्न सक्छ ।
सिन्थ-आइडी पनि एआई प्रयोगको ट्रयाक राख्ने अर्को प्रभावकारी माध्यम हो, जसले एआई चित्रणमा थप पारदर्शिता ल्याउन सक्छ । तपाईं जेमिनाईमा तस्वीरहरू राखेर तिनको आधिकारिकता प्रमाणीकरण गर्न सक्नुहुन्छ ।
अनलाइनमा देखिने सामग्रीप्रति मानिसहरूको अविश्वास बढ्दै जाँदा यसले प्रयोगकर्तालाई थप सुनिश्चितता र प्रमाणीकरण प्रदान गर्नेछ । एआई डिस्क्लोजरका लागि यो एउटा निकै ठूलो फड्को हो ।
गुगलको यो सिन्थ-आइडी पहिचान सुविधा जेमिनाईमा १०० एमबीसम्मको फाइल र ९० सेकेन्डसम्मको भिडिओका लागि मात्र उपलब्ध हुनेछ । यो अपडेट २०२५ डिसेम्बरको अन्त्यतिर भएको हो ।
गुगलले यस्ता अपडेटहरु प्रायः ‘सर्भर साइड’ हुन्छन् । यो सुविधा जेमिनाई एप सपोर्ट गर्ने सबै भाषा र देशहरुमा उपलब्ध भइसकेको छ । नेपालका एन्ड्रोइड वा आइओएस प्रयोगकर्ताले आफ्नो जेमिनाई एप अपडेट गरी यो फिचर प्रयोग गर्न सक्छन् ।
