२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday
नेपाल प्रिमियर लिग

एनपीएल दोस्रो संस्करणमा कति होला क्यानको आम्दानी र खर्च ?

क्यानले प्रायोजकबाट प्राप्त रकम सार्वजनिक गरेको छैन । तर गत वर्ष ब्रान्ड लजिकबाट झन्डै छ करोड कमाएको क्यानले यसपालि प्रायोजकबाट १६ करोडभन्दा बढी कमाउने अनुमान गरिएको छ ।
सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ मंसिर ६ गते शनिबार
नेपाल प्रिमियर लिग (एनपीएल)को गत वर्षको पहिलो संस्करणमा कुल एक अर्ब रुपैयाँको कारोबार भएको बताइएको थियो । व्यवस्थित रङ्गशाला र फ्लड लाइटको कृत्रिम प्रकाशमा अहिले एनपीएलको दोस्रो संस्करण गत वर्षभन्दा फरक तरिकाले सुरु भइरहेको छ ।

देशको अर्थतन्त्र चलायमान बनाउने भनिएको यसपालिको एनपीएलको आम्दानी र खर्च चाहिँ कति होला ? धेरैको चासोको विषय छ । नेपाल क्रिकेट सङ्घका सचिव तथा एनपीएलको गभर्निङ काउन्सिलका प्रमुख पारस खड्काले यसपालि गत वर्षको दाँजोमा तीन गुणा आम्दानी बढ्न सक्ने बताइसकेका छन् ।

एनपीएलले कसरी आम्दानी गर्छ ?

एनपीएलले यसरी नै सफलता प्राप्त गर्दै जाने हो भने छ वर्षमा नेपाल क्रिकेट सङ्घ युवा तथा खेलकुद मन्त्रालयभन्दा तीन गुणा धनी हुन सक्ने अनुमानसमेत सचिव खड्काले खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा गरेका थिए । मुख्यतः एनपीएलले प्रायोजक, प्रसारण अधिकार, टिकट बिक्री र ‘फ्रेञ्चाइज फी’बाट आम्दानी गर्छ ।

गत वर्ष क्यानले रणनीतिक व्यावसायिक अधिकारको लागि ब्रान्ड लजिक कम्पनीलाई पाँच करोड ९२ लाख रुपैयाँमा ‘स्ट्राटेजिक एन्ड कमर्शियल राइट्स’ बेचेको थियो । यसपालि भने क्यान आफैंले यो काम गरेको छ । गत वर्ष नै मुख्य प्रायोजकको रूपमा सिद्धार्थ ब्याङ्कलाई पाँच वर्षको लागि भित्र्याएको क्यानले यसपालि झन् बढी प्रायोजक भित्र्याउन सफल भएको छ ।

क्यानका प्रवक्ता छुम्बी लामा भन्छन्, ‘१६–१७ वटा जति प्रायोजकहरू विभिन्न स्वरूपमा एनपीएलमा जोडिएका छन् ।’ क्यानले प्रायोजकबाट प्राप्त रकम सार्वजनिक गरेको छैन । तर गत वर्ष ब्रान्ड लजिकबाट झन्डै छ करोड कमाएको क्यानले यसपालि प्रायोजकबाट १६ करोडभन्दा बढी कमाउने अनुमान गरिएको छ । क्यान सचिव खड्काले यसपालि आम्दानी तीन गुणा बढ्न सक्ने बताएका छन् । क्यानको आम्दानीको यो बलियो स्रोत हो ।

प्रसारण अधिकार

क्यानले यसपालिको तीन वटा स्वरूपमा प्रसारण अधिकार फरक कम्पनीहरूलाई बेचेको छ । जसमा नेपालभित्रको लिनिअर टेलिभिजन प्रसारण अधिकार कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडलाई दिइएको छ । यसबापत क्यानले तीन करोड रुपैयाँभन्दा बढी रकम प्राप्त गर्ने बताइएको छ । यस्तै स्ट्रीमिङ राइट्स (ओटीटी राइट्स) भारत बाहेक अन्य देशको लागि ‘डिश होम गो’ले पाएको छ ।

भारतमा भने ओटीटी अधिकार ‘फ्यान कोड’ले पाएको छ । त्यसमा क्यानले दुई करोड रुपैयाँ प्राप्त गर्ने बताइएको छ । डिश होम गोले पाँच करोड ३० लाख रुपैैयाँमा यो अधिकार पाएको हो । त्यो न्यूनतम ग्यारेन्टी रकम मात्र हो । त्यसबाहेक पनि डिश होम गोले थप नाफाको ७१ प्रतिशत रकम क्यानलाई प्रदान गर्ने सम्झौता भएको छ । गत वर्ष यो राइट्स एक्सन स्पोट्र्सले ७५ लाख रुपैयाँमा पाएको थियो ।

एक्सन स्पोट्र्सले यूट्यूब र टीभीमा सित्तैँमा देखाएर विज्ञापनबाट आम्दानी गरेको थियो । यसपालि भने यूट्यूब वा अन्य च्यानलमा सित्तैमा एनपीएल हेर्न पाइने छैन । ठुलो ब्रान्ड भ्यालु भएका प्रतियोगिताहरू पैसा तिरेर हेर्ने विश्वव्यापी प्रचलन रहेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यसले क्यानलाई राम्रो मुनाफा दिने बताएका छन् । दक्षिण एसिया क्षेत्रमा भने स्टार स्पोर्टसबाट एनपीएल हेर्न सकिनेछ । तर यसबाट आम्दानी होइन, क्यानलाई खर्च बढ्ने छ ।

टिकट बिक्री

एनपीएल पहिलो संस्करणमा क्यानले टिकट बिक्रीबाट चार करोड रुपैयाँ कमाएको थियो । यसपालि १० हजार सिट क्षमताको व्यवस्थित फ्लड लाइट सहितको रङ्गशालामा खेल भइरहेको छ । गत वर्ष रङ्गशाला व्यवस्थित थिएन । राम्रो पर्खाल नहुँदा दर्शकहरू कतिखेर कहाँबाट छिर्ने थाहा हुँदैनथ्यो ।

रङ्गशाला निर्माणसँगै त्यो समस्या हटेको छ भने क्यानले प्रहरीबाहेक आफ्नै सुरक्षाकर्मी राखेर टिकट बिक्रीलाई व्यवस्थित गरेको छ । पहिलो दिनको टिकट चाँडै नै ‘सोल्ड आउट’ हुनुले यसपालिको ३२ खेलमै राम्रो टिकट बिक्री हुने अनुमान गरिएको छ । क्यानले गत वर्ष टिकट मूल्य साधारणतर्फ ३०० राखेको थियो भने यसपालि ५०० रुपैयाँ राखेको छ । त्यसैले क्यानले गत वर्षभन्दा दोबर आम्दानी गर्ने अनुमान गरिएको छ ।

फ्रेञ्जाइज शुल्क

पहिलो सीजनमा आठ वटा टोलीको फ्रेञ्चाइज फीबाट क्यानले झन्डै १७ करोड रुपैयाँ कमाएको थियो । हरेक वर्ष फ्रेञ्चाइज टोलीले नवीकरण गर्नुपर्छ । नवीकरण रकम भने टीमले पहिलो किनेको रकम अनुसार फरक फरक हुने गर्छ । जसअनुसार आठ वटै टीमले कम्तीमा एक करोड रुपैैयाँभन्दा बढी तिर्ने हिसाब छ । क्यानले नवीकरण शुल्कबाट नौं करोड रुपैयाँ प्राप्त गर्ने जनाएको छ ।

खर्च कति ?

जति ठुलो कार्यक्रम, व्यवस्थापनको लागि उति नै धेरै खर्च हुने नै भयो । पहिलो संस्करणमा क्यानले २० करोड खर्च भएको जनाएको थियो । यसपालि पनि त्यसकै हाराहारीमा खर्च हुन सक्ने अनुमान छ । क्यानको यसपालिको सबैभन्दा ठुलो खर्चमध्ये एक स्टार स्पोट्र्सलाई प्रसारण बापतको खर्च हो । सार्वजनिक नभए पनि स्टार स्पोर्टसलाई क्यानले आठदेखि १२ करोड रुपैयाँ बुझाउने जानकारहरू बताउँछन् ।

कीर्तिपुर रङ्गशालाको शानदार पिच र हरियो मैदान निर्माण अर्को खर्च हो । त्यसमा ग्राउन्ड स्टाफ र ‘पिच क्युरेटर’हरूको खर्च ठुलो छ । यसपालि ‘ओनर बक्स’देखि प्रायोजकको लागि क्यानले तीन हजार क्षमताको अस्थायी प्यारापिट निर्माण गरेको छ । दर्शक गेटहरूमा तार जाली लगाउने कामदेखि होर्डिङ बोर्डमा पनि क्यानले खर्च गर्छ । त्यस्तै अम्पायर, कमेन्टेटर, होस्ट, म्याच अफिसियसल, एन्टि करप्शन युनिट र सुरक्षाको खर्च क्यानको हो ।

प्रचार प्रसारका लागि गरिने कार्यक्रमहरू जस्तै पत्रकार सम्मेलन, अक्सन, रिसेप्सन, उद्घाटन र समापन समारोह, मार्केटिङ आदिमा पनि खर्च हुन्छ । गत वर्ष ब्रायन लाराजस्ता अन्तर्राष्ट्रिय क्रिकेट व्यक्तित्वलाई प्रचारको लागि निम्तो गर्दा एक करोडको हाराहारीमा खर्च भएको भनिएको थियो । यसपालि भने त्यस्ता अन्तर्राष्ट्रिय स्टारलाई निम्तो नगरेको क्यान प्रवक्ता लामाले बताएका छन् ।

पुरस्कार राशिमा पहिलो हुने टोलीलाई एक करोड ११ लाख, दोस्रोले ५१ लाख, तेस्रोले ३० लाख र चौथो हुने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । दुई करोड बढीको यो खर्च क्यानको हो । ३२ खेलको प्लेयर अफ द म्याचलाई ५० हजार, फ्यान अफ द म्याचलाई २५ हजार, इनर्जेटिक प्लेयर अफ द म्याचलाई २५ हजार, क्याच अफ द म्याचलाई २५ हजार जस्ता पुरस्कार भने सम्बन्धित प्रायोजकले दिने गर्छन् । बल लगायत खेल सामग्री अनि खेलको दौरान गरिने खाना, खाजा, यातायात खर्चहरू पनि त्यति नै छ ।

अन्य फुटकर खर्चहरू उत्तिकै हुने गर्छ । क्यानले यी सबै खर्च कटाएर गरेको आम्दानीको ५० प्रतिशत रकम आठ वटै फ्रेञ्चाइज टीमलाई बाँड्छ । त्यस्तै प्रदेश क्रिकेटलाई पनि मुनाफाको हिस्सा दिने गर्छ । गत वर्ष क्यानले ७ वटै प्रदेश क्रिकेटलाई १०–१० लाख वितरण गरेको थियो । यी सबै खर्च कटाएर पनि यसपालि क्यानले पहिलो वर्षभन्दा तेबरभन्दा बढी नाफा गर्ने अनुमान गरेको छ । समग्रमा एनपीएलले नेपालको अर्थतन्त्र चलायमान गर्न भूमिका खेलेको हुन्छ । गत वर्ष दुई करोड कुल आम्दानी गरेको क्यानले यसपालि कति आम्दानी गर्छ त्यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति : २०८२ मंसिर ६ गते शनिबार